कसरी ‘फल्यो’ धान खेतमा लाइसेन्स ? निमित्त प्रमुख भन्छन्– 'शाखमा धब्बा लगाउन खोजियो'

लोकान्तर

काठमाडौँ
तस्बिर : लोकान्तर

अजय अनुरागी

एकातर्फ सवारी चालकको अनुमति पत्र ‘स्मार्ट लाइसेन्स’ लिन दुई वर्षसम्म सेवाग्राहीहरू यातायात व्यवस्था कार्यालय जनकपुरमा धाइरहेका छन् भने अर्कातर्फ स्मार्ट लाइसेन्स जनकपुरको धान खेतमा फालिएको हुन्छ ।

२ नम्बर प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय मातहत रहेको जनकपुरको उक्त कार्यालयको स्टोर तथा स्मार्ट लाइसेन्स वितरण कक्षमा सुरक्षित राखिनुपर्ने स्मार्ट लाइसेन्स कार्यालयको साटो धान खेतमा बेवारिसे फालिएको हुन्छ । 

कात्तिक १२ गते उक्त कार्यालयको पछाडिपट्टि रहेको धान खेतमा जब केही महिलाहरू धान काट्न गएका थिए, त्यहाँ स्मार्ट लाइसेन्स फालिएको अवस्थामा थियो ।

यातायात व्यवस्था कार्यालय जनकपुरका निमित्त कार्यालय प्रमुख वीरेन्द्र साहका अनुसार धान काट्न गएका महिलाका छोराछोरीहरू धान खेतमा रहेको लाइसेन्स लिएर खेलिरहेको अवस्थामा कार्यालयमा रहेका सेवाग्राहीले नै देखेपछि हल्ला भएको थियो । त्यसपछि कार्यालयबाट कर्मचारीहरू गएर ती स्मार्ट लाइसेन्स संकलन गरेर कार्यालयमा ल्याएका थिए । 

‘८० को लटको कुल ३३० वटा स्मार्ट लाइसेन्स त्यहाँबाट बरामद गरेर ल्याइएको थियो,’ साहले लोकान्तर सँग भने, ‘कार्यालयमा सुरक्षित हुनुपर्ने ती लाइसेन्स धान खेतमा कसरी पुग्यो भन्ने कुराको अनुसन्धान थालिएको छ ।’ 

प्रकाशित मिति: : 2020-11-02 12:05:00

प्रतिकृया दिनुहोस्