दिल्ली क्वालिफायरमा, पराजित बेंगलोर ४ वर्षपछि प्ले अफमा

रोयल च्यालेन्जर्स बेंगलोर र दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपीएल)काे प्ले अफमा स्थान बनाएको छ।

दिल्ली बेंगलोरलाई ६ विकेटले पराजित गर्दै प्लेअफमा पुग्न सफल भएको हो। यता बेंगलोर पराजित भएपनि नेट रनरेटकाे आधारमा प्ले अफमा पुगेकाे हाे। 

बैंगलोरले दिएको १ सय ५३ रनको लक्ष्य दिल्लीले १९ ओभरमा मात्र ४ विकेट गुमाएर पुरा गर्‍याे।

दिल्लीको जितमा अजिन्का रहाणे र शिखर धवनले अर्धशतकीय इनिङ्स खेले। रहाणे ६० रन बनाएर आउट हुँदा धवनले ५४ रन बनाए।

रहाणेले ४६ बलमा ५ चौका र १ छक्का प्रहार गरे। यता धवनले ४१ बलमा ६ चौका प्रहार गरे। 

दोस्रो विकेटका लागि शिखर धवन र अजिंक्या रहाणेले ८८ रनको साझेदारी गर्दै जितको आधार तय गरेका थिए। 

 कप्तान श्रेयस ऐर ७, ऋषभ पन्त ८, पृथ्वी श ९ र मार्कस स्टोइनिस १० रनमा अविजित रहे।

बेंगलोरका शहबाज अहमदले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिए। मोहम्मद शिराज र वासिन्टन सुन्दरको नाममा एक एक विकेट रह्यो।

यसअघि टशेख जायद स्टेडियम आबूधाबीमा टस हारेर ब्याटिङको निम्तो पाएको बेंगलोरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५२ रन बनाएको थियो। बेंगलोरका देबदुत पडीकलले ५० रनको अर्धशतकीय इनिङ्स खेले। उनले ४१ बलमा ४ चौका प्रहार गरे।

एबी डी भिलियर्स २१ बलमा १ चौका र २ छक्कासहित ३५ रन जोड्दा कप्तान विराट कोहलीले २९ रन बनाए।

यस्तै शिबम दुबेले १७ रन जोड्दा जोस फिलिपेले १२ रन जोडे। दुबेले ११ बलमा २ चौका र १ छक्का प्रहार गरे। फिलिपेले १७ बलमा १ चौका प्रहार गरे।

एनरिच नोर्कियाले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिए। रविचन्द्रन आश्विनले ४ ओभरमा १८ रन खर्चेर १ विकेट लिए। कागिसो रबाडाले ४ ओभरमा ३० रन खर्चेर २ विकेट लिए।

जितसँगै दोस्रो स्थानमा रहेकाे दिल्लीले १४ खेलमा १६ अंक जोडेको छ।

दिल्लीले अब पहिलो क्वालिफायरमा शीर्ष स्थानमा रहदै प्ले अफ पुगेको मुम्बई इण्डियन्ससँग खेल्नेछ। मुम्बई र दिल्लीबीच पहिलो क्वालिफायर बिहिबार (नोभेम्बर ५) हुनेछ।

पहिलो क्वालिफायरको विजेता फाइनलमा पुग्नेछ। पराजित हुने टिमले दोस्रो क्वालिफायर खेल्नेछ।

यता बेंगलोर पनि १४ खेलमा समान ७ मा जित र हार सहित १४ अंकका साथ तेस्रो स्थानमा छ। समान १४ खेलमा ७–७ मा जित र हारसहित कोलकाता नाइट राइडर्सको १४ अंक भएपनि नेट रनरेटको आधारमा चौथो स्थानमा छ। बेंगलोरको नेट रनरेट – ०.१७२ रहँदा कोलकाताको –०.२१४ छ। बेंगलोर ४ वर्षपछि पहिलो पटक प्ले अफमा। 

मंगलबार आइपिएलको लिग चरणको अन्तिम खेलमा सनराइजर्स हैदराबाद शीर्षस्थानको मुम्बई इन्डियन्स भिड्दै छन्। हैदराबाद विजयी भएमा नेट रनरेटको आधारमा प्ले अफमा पुग्दा कोलकाता लिग चरणबाट बाहिरिने छ। हैदराबाद पराजित भएमा कोलकाता प्ले अफमा पुग्ने छ। हैदराबादको नेटरनरेट ०.५५५ छ।

शुक्रबार (नोभेम्बर ६) हुने एलिमिनेटर खेलमा बेंगलोरसँग कोलकाता र हैदराबाद मध्य एक टोलीले प्रतिस्पर्धा गर्ने छन्। जसको विजेताले पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग फाइनल प्रवेशको लागि प्रतिस्पर्धा गर्ने छ। उक्त खेल आइतबार(नोभेम्बर ८) हुनेछ। 

प्रकाशित मिति: : 2020-11-03 07:08:00

प्रतिकृया दिनुहोस्