जनतालाई न उपचारमा सहुलियत, न बिमाको साथ

तस्बिर : नयाँ पत्रिका

विजयराज खनाल

संक्रमित जनताको निःशुल्क उपचारका चौतर्फी ढोका बन्द गरेको सरकारले कोभिड बिमालाई पनि अलपत्र छाडिदिएको छ । सरकारको अनुमतिमा धमाधम बिमा गरेका कम्पनीले भुक्तानी ठप्प पारेका छन् । जनतासँग अब न सरकारी सहुलियत छ न बिमाको साथ । 
बिमा कम्पनीहरूले १७ लाख ७० हजार नौ सय २६ जनाको बिमा गरेका छन् । तर, अहिलेसम्म जम्मा एक हजार चार सय ४१ जनाको मात्र दाबी भुक्तानी भएको छ । 

१७ लाख ७० हजार जनताको बिमा गर्दा कम्पनीहरूले एक अर्ब एक करोड ९१ लाख रुपैयाँ प्रिमियम संकलन गरेका थिए । कुल बिमितमध्ये शून्य दशमलव ७५ प्रतिशत अर्थात् कुल १३ हजार तीन सय ५३ संक्रमित भएको भन्दै दाबी परेको थियो । तर, बिमित संक्रमितमध्ये ११ प्रतिशत अर्थात् जम्मा १४ सय ४१ जनाको मात्र भुक्तानी भएको छ । संक्रमण पुष्टि भएको प्रमाणित कागजात प्रमाणित गर्ने भन्दै बिमा कम्पनीले भुक्तानी ठप्प पारेका छन् । तर, यसबीचमा के गर्ने भन्नेमा सरकार मौन छ । 

१७ लाख ७० हजार ग्राहकबाट एक अर्ब एक करोड संकलन गरेका बिमा कम्पनीसामु १३ हजार दाबी पर्दा एक अर्ब २८ करोडको दायित्व सिर्जना भएको छ । तर, यो स्वास्थ्य संकट र महामारीको अवस्था भएकाले सरकारको हिस्सा हुनुपर्ने विश्वव्यापी मान्यता हो । संक्रमित जनतालाई बिमामार्फत अनुदान दिने प्रतिबद्धता गरे पनि सरकारले अनुदान नदिएकाले भुक्तानी गर्न नसकेको बिमा कम्पनीहरूको भनाइ छ । 

प्रकाशित मिति: : 2020-11-03 07:57:00

प्रतिकृया दिनुहोस्