कोरोना संक्रमण बढिरहँदा कक्षा १२ को परीक्षाबारे विद्यार्थीमा स‌ंशय, यस्तो छ बोर्डको तयारी

हिमाल खबर

काठमाडौँ
फाइल तस्बिर

नुनुता राई
काठमाडौं शंखमूलकी समीक्षा न्यौपाने लामो समयको अन्योलपछि तय भएको कक्षा १२ को परीक्षाको तयारी गरिरहेकी छिन्। राष्ट्रिय परीक्षा बोर्डले ९ मंसीरदेखि परीक्षा सञ्चालन गर्ने तालिका सार्वजनिक गरिसकेको छ। तर, कोरोनाभाइरसको संक्रमण दर बढिरहँदा त्रासमा रहेकी उनी परीक्षा नै नहोला कि भन्ने संशयका कारण चिन्तित छिन्।

भन्छिन्, “बल्लबल्ल परीक्षा हुन लागेको बेला संक्रमितको संख्या बढिरहेको छ, को परीक्षा फेरि स्थगित हुने हो कि भन्ने डर लाग्न थालेको छ।”  

बोर्डको परीक्षा तालिका र निर्देशन आएसँगै विद्यालयहरू परीक्षा सञ्चालन गर्ने तयारीमा जुटिरहेका छन्। तर, बढ्दो कोरोना संक्रमणका कारण परीक्षाबारे विद्यार्थी मात्र संशयमा छैनन्, अभिभावक र विद्यालयहरू पनि अन्योलमा छन्।

काठमाडौं उपत्यकासहित विभिन्न स्थानमा कोरोना संक्रमितको संख्या अत्यधिक बढिरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको १७ कात्तिकको तथ्यांक अनुसार, उपत्यकाका तीन जिल्ला तथा झापा, मोरङ, सुनसरी, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासी (पश्चिम), दाङ, रुपन्देही र कैलाली जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी छ। 

यति हुँदाहुँदै पनि अहिलेको अवस्थामा विद्यालयले परीक्षा संचालन गर्न सम्भव हुने राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेल बताउँछन्। “महामारीको अनिश्चितता बढ्दै जाँदा लामो समयको अन्योलपछि परीक्षा मिति तय भएको छ”, उनी भन्छन्, “बजार, सार्वजनिक यातायात पनि खुलेको अवस्थामा स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गराएर परीक्षा गराउन सकिन्छ।”  
 

प्रकाशित मिति: : 2020-11-03 08:11:00

प्रतिकृया दिनुहोस्