चुनावको नतिजा आउन ढिलो भएपछि अमेरिकाको विभिन्न शहरमा झडप (भिडियो)

संजोग आचार्य

न्यूयाेर्क

अमेरिकी राष्ट्रपति चुनावको नतिजा आउन विलम्ब भएपछि केही शहरमा रिपब्लिकन र डेमोक्र्याट समर्थकबीच हिंसा भड्किएको छ। 

वासिङ्टनमा राष्ट्रपति डोनाल्ड ट्रम्पविरूद्ध काला जातिका मानिसहरूले आक्रोस व्यक्त गरेका छन्। 

व्हाइट हाउस अगाडि हजारौंको संख्यामा ‘ब्ल्याक लिभ्स म्याटर’ को प्लेकार्ड बोकेका मानिस उपस्थित थिए। 

केही दिनयता यो ठाउँ काला जातिका मानिसहरूका लागि आन्दोलनको प्रमुख स्थल बनेको थियो। उनीहरूले ट्रम्पविरूद्ध नाराबाजी गरे। सडक अवरूद्ध गरेर पटाका पट्काएका थिए। 

आन्दोलनकारी र प्रहरीबीच धेरैपल्ट झगडा भइसकेको छ। वासिङ्टनका मेयर मुरियल बोउसरले भनेका छन्, ‘केही व्यक्ति नियतवस हुलदुंगा मच्चाउन खोजिरहेका छन्।’ 

सियाटलमा पनि प्रदर्शनकारीले ट्राफिक जाम गरे। प्रहरीले यस ठाउँबाट दुबै समूहका ८ समर्थकलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार केही व्यक्तिले प्रहरी अधिकारीमाथि हातपात गर्ने प्रयास गरेका थिए। 

न्युयोर्कमा पनि केही व्यक्तिले नाराबाजी गरेका छन्। उनीहरूले ‘हामीले न्याय पाएनौं भने कसैलाई शान्तसँग बस्न दिँदैनौ’ भनेर नाराबाजी गरेका थिए। 

प्रदर्शनकारीको हातमा भएको पोस्टरमा लेखिएको थियो, ‘ट्रम्प सधैँ झुटो बोल्छन्।’ प्रदर्शनकारीले प्रहरीको गाडी पनि तोडफोड गरेका छन्। 

हिंसाको आंशकाका बीच व्यापारीहरूले आफ्नो पसल बन्द गरेका छन्। प्रशासनले सुरक्षा एजेन्सीलाई उच्च सतर्कतामा बस्न निर्देशन दिएको छ। 

सुरक्षा एजेन्सीले चुनावको नतिजा सार्वजनिक भएपछि स्थिति झन् बिग्रिनसक्ने तर्फ ध्यान दिन सम्बन्धित निकायलाई सावधानी गराएको छ।

प्रकाशित मिति: : 2020-11-05 07:44:00

प्रतिकृया दिनुहोस्