जोखिम भत्ता नदिएको भन्दै वीरका स्वास्थ्यकर्मी आन्दाेलित

कोरोना भाइरसको संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई जोखिम भत्ता नदिएको भन्दै वीर अस्पतालमा कार्यरत कर्मचारी आन्दोलनमा उत्रिएका छन्। 

अस्पतालले स्वास्थ्यकर्मीलाई संक्रमण व्यस्थापनमा खटाएपनि गुणस्तरिय स्वास्थ्य सुरक्षा सामग्री नदिएको, समयमा तलब नदिएको र चैत ११ गतेदेखि हालसम्म एकपटक पनि भत्ता नदिएको भन्दै आन्दोलित भएको अस्पतालको कर्मचारी युनियनका सचिव दिपक मुडबरीले जानकारी दिए। 

उनीहरु दैनिक एक घण्टा ड्युटी छोडेर अस्पताल परिसरमा चार दिनदेखि धर्ना बसिरहेका छन्।

‘वीरमा एक हजार ५ सय स्वास्थ्यकर्मी छन्, जसले संक्रमितको उपचारमा खटिएबापत पाउनुपर्ने सेवासुविधा पाएका छैनन्,’ उनले भने, ‘ नत बिमको रकम नै पाएका छौं।

उनले भत्ता र सुरक्षा सामग्री उपलब्ध नगराए आकस्मिकसहित सबै सेवामा आफूहरू नखटिने आन्दोलमा उत्रिने चेतावनी समेत दिए।

‘गुणस्तरीय पीपीई पनि पाएका छैनौं, जसका कारण हामी आफै संक्रमित भएका छौं। तुरुन्त हाम्रो माग पुरा नगरे आकस्मिकसहित सबै सेवामा आफूहरू नखटिने आन्दोलमा उत्रिने छौं,’ उनले भने।

उनका अनुसार वीरमा कार्यरत करिब २५० स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन्। तीमध्ये आधा संक्रमित स्वास्थ्यकर्मी आइसोलेसन र क्वारेन्टाइनमै छन्।
 

प्रकाशित मिति: : 2020-11-05 12:44:00

प्रतिकृया दिनुहोस्