‘अब दुई अध्यक्षले मात्रै छलफल गरेर हुन्न, कमिटी बैठक नै डाकिनुपर्छ’

देशसञ्चार

काठमाडौँ

दिपा दाहाल

पूर्वउपप्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच उत्पन्न विवादले संकटमा भासिएको आफ्नो पार्टी एकता रक्षा अब ओली र प्रचण्ड मात्रै बसेर सम्भव नहुने भएकाले पार्टी कमिटी बैठक नै आवश्यक पर्ने धारणा अघि सारेका छन्।

ओली पक्षले पहिले दुई अध्यक्षबीच छलफल र समझदारी बनेपछि मात्रै कमिटी बैठक बोलाउने अडान लिइरहेका बेला रायमाझीेले प्रचण्ड पक्षको अडानअनुसार दुई अध्यक्षबीच नभई पार्टी कमिटी बैठकमा छलफल आवश्य भएको बताएका हुन्।

यस्तै उनले पार्टीमा दुई अध्यक्षकै कारण पार्टी बन्धक भइरहने स्थितिको पनि अब अन्त्य गर्न आवश्यक भएको र त्यसमा दोस्रो तहका नेताहरुको हस्तक्षेप आवश्यक भएको बताएका छन्। नेता रायमाझीसँग देशसञ्चारले लिएको अन्तर्वार्ताको संक्षिप्त अंश:

पार्टीमा फेरि बिग्रह आउनुको कारण के देख्नुहुन्छ तपाईँ?

अन्तरद्वन्द्व कम्युनिष्ट पार्टीमा स्वाभाविक मानिन्छ। द्वन्द्व निरन्तर हुन्छ। तर एकता सापेक्ष हुन्छ। अन्तरविरोध निरपेक्ष हुन्छ। तर फेरि एउटै विषयमा एकै व्यक्तिहरुबीच द्वन्द्व चलिरहेमा त्यसलाई स्वाभाविक मानिँदैन। अहिलेको विवाद अस्वाभाविक हो।

अहिले नेकपामा चलेको द्वन्द्व विचार, योजना, विधि, राष्ट्र, विकास, महामारीका लागि चलेको छैन। मुख्यगरी यो ‘पावर सेयरिङ’सँग बढी केन्द्रीत भएको छ। अर्थात् शक्ति सन्तुलनका लागि नेकपामा अहिले द्वन्द्व भएको हो।

यसले सरकार र पार्टीका कामकारबाहीमा प्रभाव पारेको छ। यो निरन्तर हरेमा पार्टीलाई नै गम्भीररुपमा क्षति पुर्याउँछ।

प्रकाशित मिति: : 2020-11-05 15:01:00

प्रतिकृया दिनुहोस्