अमेरिकी राष्ट्रपतिमा जो बाइडन र उपराष्ट्रपतिमा कमला ह्यारिस विजयी

अमेरिकी राष्ट्रपतिमा जोे बाइडन र उपराष्ट्रपतिमा कमला ह्यारिस विजयी भएको मूलधारका अग्रणी सञ्चार माध्यमहरूले घोषणा गरेका छन्।

मिडियाहरूले मतगणना जारी रहेको ब्याटलग्राउण्ड राज्य पेन्सेल्भेनियाको २० इलेक्ट्रोल कलेज मत बाइडनको पक्षमा जाने प्रक्षेपण गरेर उनीहरूलाई विजयी घोषणा गरेका हुन्।

यो घोषणा बाइडन समर्थक उदारवादी सीएनएनलगायतका मिडियाले मात्र गरेका छैनन्, ट्रम्प समर्थक दक्षिणपन्थी फक्स न्यूजले पनि गरेको छ। सीएनएनको प्रक्षेपणमा नभाडाको ६ जोडेर बाइडन-ह्यारिसको पक्षमा २७९ कलेज इलेक्ट्रोल मत बनाइए पनि अझै एरिजोनाको ११ जोडिएको छैन। तर, फक्सले भने ती दुबै पनि बाइडनको पक्षमा प्रक्षेपण गरेर २९० इलेक्ट्रोल कलेज मत पुर्याइ दिएको छ।

अमेरिकी राष्ट्रपतिमा जोेसेफ बाइडन र उपराष्ट्रपतिमा कमला ह्यारिस विजयी भएको मूलधारका अग्रणी सञ्चार माध्यमहरूले घोषणा गरेका छन्। यो जीतसँगै अमेरिकामा ट्रम्प-पेन्सको जोडी एक कार्यकालमा सिमीत भएको छ।

यसैबीच फक्स न्युजले पनि बाइडन विजयी घोषणा गरेपछि राष्ट्रपति ट्रम्प थप रक्षात्मक स्थितिमा पुगेका छन्। हार स्वीकार नगर्ने र मुद्दा मामिला गर्ने घोषणा गरेका उनले केही समयपछि नै प्रेस विज्ञप्ती जारी गर्ने बताइएको छ। उनको यो प्रेस विज्ञप्तीले नै अमेरिकी राजनीतिको दशा र दिशामा निर्धारण गर्ने बताइएको छ।

उता, राष्ट्रपतिमा निर्वाचित हुने प्रक्षेपण गरिएका बाइडनले अमेरिकी पूर्वी समयअनुसार  शनिबार साँझ  ८ बजे गृहनगर डेलावरको विल्मिङ्टनबाट राष्ट्रको नाममा सम्बोधन गर्ने बताइएको छ।

यतिबेला अमेरिकाका विभिन्न राज्य र सहरमा डेमोक्रेट्सहरू उत्सव मनाइरहेका छन् भने रिपब्लिकनहरू चुनावको परिणामलाई मानेर अमेरिकी प्रजातन्त्रको गरीमा कायम राख्नुपर्ने बताइरहेका छन्। तर, ट्रम्पकनहरू भने हार स्विकार गर्न तयार छैनन् । उनीहरू आफ्ना नेताको भाषामै चुनावी परिणाम लुटिएको र त्यसका विरूद्ध अन्तिम अवस्थासम्म लड्नुपर्ने बताइरहेका छन्।

प्रकाशित मिति: : 2020-11-08 00:28:00

प्रतिकृया दिनुहोस्