अमेरिकाको आधुनिक इतिहासमा कान्छो सांसद बन्दै माडिसन काउथोर्न

अमेरिकाको आधुनिक इतिहासमा सबैभन्दा कान्छो सांसद बन्ने अभियानमा माडिसन काउथोर्न अगाडि लम्केका छन्। 

२५ वर्षका माडिसन अमेरिकी कंग्रेस बन्ने पक्का भएको अमेरिकी मिडियाहरूले जनाएका छन्। 

रिपब्लिकन पार्टीबाट नर्थ क्यारोलिनामा उठेका माडिसनले डेमोक्रेट मो डेभिसलाई प्रारम्भिक मत परिणाममा धेरै पछाडि छोडिसकेको र आधिकारीक नतिजा आउन मात्र बाँकी रहेको बताइएको छ। 

माडिसनभन्दा अगाडि अमेरिकी संसदमा सबैभन्दा कान्छो उम्मेदवारको रूपमा एलेक्जेनरिया ओकासियो कोर्टेज दुई वर्षअघि प्रवेश गरेका थिए। 

न्युयोर्कका डेमोक्रेट उम्मेदवार कोर्टेज सन् २०१८ मा २९ वर्ष २ महिना २२ दिनमा सांसद नियुक्त भएका थिए। 

अमेरिकी इतिहासमा सबैभन्दा कम उमेरमा सांसद बन्ने सौभाग्य विलियम चाल्र्स कोले क्लेनबोर्नले पाएका छन्।

टेनिसीबाट सन् १७९७ मा हाउसको मेम्बर बन्दा विलियमको उमेर २२ वर्ष थियो। अमेरिकी संविधानमा हाउसको सदस्य बन्न २५ वर्ष पुग्नु अनिवार्य सर्त हो। तर, यसका बाबजुद उनी निर्वाचित भएका थिए। 

माडिसनको आधा शरीर चल्दैन। सन् २०१४ मा कार दूर्घटनामा परेपछि उनको आधा शरीर नचल्ने भएको हो। 

तर, उनी जग्गा जमिनको व्यापारमा जमेका व्यक्ति हुन। उनको अर्को पनि परिचय छ, उनी ‘मोटिभेस्नल स्पीकर’ हुन।

प्रकाशित मिति: : 2020-11-05 08:26:00

प्रतिकृया दिनुहोस्