आर्चर ‘मोष्ट भ्यालुवल’ खेलाडी घाेषित, राहुल र रबाडालाई क्याप

Breaknlinks
Breaknlinks

राजस्थान रोयल्सका तीव्र गतिका बलर जोफ्रा आर्चर इन्डियन प्रिमियर लिग (आइपीएल) मा ‘मोष्ट भ्यालुवल’ खेलाडी घोषित भएका छन्। 

आइपीएल इतिहासमा पहिलो पटक लिग चरणबाटै बाहिरिने टोलीका खेलाडीले ‘मोष्ट भ्यालुएबल’ अवार्ड प्राप्त गरेका हुन्।

राजस्थान लिग चरणबाटै बाहिरिएपनि आर्चरले १४ खेलमा २० विकेट लिएका थिए। 

आर्चरले १ सय ७५ बल डट राख्दा पाँच क्याच लिएका थिए। उनले कुल १ सय १३ रन बनाएका थिए। 

यस्तै सर्वाधिक विकेट लिएका दिल्ली क्यापिटल्सका कागीसो रबाडाले ‘पर्पल क्याप’ हात पारे। रबाडाले मुम्बई इन्डियन्सका तीव्र गतिका बलर जस्प्रित बुमराहलाई पछि पार्दै पर्पल क्याप जित्न सफल भएका हुन्। 

उनले १७ खेलमा ३० विकेट लिएका थिए। उनले १७ खेलमा ६५.४ ओभरमा ५ सय ४८ रन खर्चेर कुल ३० विकेट लिएका थिए। उनको इकोनमी ८.३७ को रह्यो।

यता बुमराहले १५ खेलमा २७ र ट्रेन्ट बोल्टले २५ विकेट लिदै दोस्रो र तेस्रो स्थानमा खुम्चिए।

दिल्लीका एनरिच नोर्किया १६ खेलमा २२ विकेटका साथ चौथो स्थानमा रहे। युजभेन्द्र चहल २१, मोहम्मद शामी, राशिद खान र जोफ्रा आर्चरले २०–२० विकेट लिए। 

‘ओरेन्ज क्याप’ किंग्स इलेभेनका कप्तान केएल राहुलले पाए। उनले सर्वाधिक रन जोडेका थिए। 

राहुलले १४ खेलमा ६ सय ७० रन बनाएका थिए। यद्यपी पन्जाब लिग चरणबाटै बाहिरिएको थियो।

कुल १४ खेलमा उनले एक शतक र पाँच अर्ध शतकसहित ६ सय ७० रन जोडेका थिए। स्ट्राइक रेट १२९ को हुँदा कुल ५८ चौका र २३ छक्का प्रहार गरे। राहुलले लिग चरणको खेलमा रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध १ सय ३२ रनको अविजित उत्कृष्ट इनिङ खेलेका थिए।

राहुलले यस सिजनको ‘गेम चेन्जर अवार्ड’ पनि जिते। 

यता १७ खेलमा २ शतक र ४ अर्ध शतकसहित कुल ६ सय १८ रन बनाएका दिल्लीका ओपनर शिखर धवन आइपीएलमा सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा दोस्रो स्थानमा रहे। तेस्रो स्थानमा ५ सय ४८ रन बनाएका सनराइजर्स हैदराबादका कप्तान डेभिड वार्नर रहे।

चौथो स्थानमा दिल्लीका कप्तान श्रेयस ऐर रहे। ऐरले १७ खेलमा ५ सय १९ रन बनाए। पाँचौ स्थानमा रहेका मुम्बईका युवा ब्याट्सम्यान ईशन किशनले १५ खेलमा ५ सय १६ र क्विन्टन डी कक ५ सय ३ रन बनाए।

‘पावर प्ले अवार्ड’ मुम्बईका ट्रेन्ट बोल्टले जिते। 

यता रोयल बेंगलोरका युवा ओपनर ब्याट्सम्यान देवदत्त पाडिक्क ‘इमर्जिङ प्लेयर अफ द अवार्ड’ घोषित भएका छन्। पाडिक्कलले १५ खेलमा पाँच अर्ध शतकसहित कुल ४ सय ७३ रन बनाए।

सर्वाधिक छक्का मुम्बईका ईशान किशनले जितेका छन्। उनले कुल ३० छक्का प्रहार गरेका थिए। किशनले १५ खेलमा ५ सय १६ रन बानाएका थिए।

जारी सिजनमा १९१.४२ स्ट्राइक रेट राखेका काइरन पोलार्डले ‘सुपर स्ट्राइक रेट’ जितेका छन्। 

सबै अवार्डको धनराषि समान १०/१० लाख र ट्रफि थियो।

प्रकाशित मिति: : 2020-11-11 07:12:00

प्रतिकृया दिनुहोस्