शेयर परिसूचक १७ सय बिन्दु माथि, बजारमा उत्साह जारी

बिएल संवाददाता

काठमाडाै‌ं

नेपालको शेयर परिसूचक (नेप्से) मा उत्साह जारी रहेको छ। लगानीकर्ताका लागि मनोवैज्ञानिक हिसाबले महत्वपूर्ण मानिने १७ सय विन्दुलाई पार गरेसँगै बजारमा थप रौनकता छाएको छ।

नेप्से बढ्दै जाँदा बुधबार औसतमा प्रतिमिनेट १ करोड ७० लाख रुपैयाँभन्दा धेरैको सेयर खरिदबिक्री भएको हो। यस दिन ४ अर्ब ९ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। 

वियरिस बजारमा ४ घन्टामा २० करोडभन्दा तल झरेको कारोबार रकम अहिले मिनेटमा १ करोड ७० लाख रुपैयाँभन्दा माथि कारोबार हुने अवस्थामा पुगिसकेको छ।

खरिदबिक्री रकम चुलिंदै जाँदा नेप्से सूचकले पनि निरन्तर नयाँ उचाइ लिंदैगएको छ। अब यसअघिको अधिकतम उचाई १८८१ विन्दुको नजिकमा नेप्से प्रवेश गर्न थालेको छ। 

कारोबार रकम र नेप्से सूचक दुवैमा आकर्षिक बढोत्तरी देखिनुले लगानीकर्तालाई थप उत्साहित बनाएको छ।बैंकिङ प्रणालीमा अधिक तरलता रहेकोले यो अझै माथि जाने संभावना प्रवल छ। 

सस्तो ब्याजदर भएकै कारण सेयर बजार निकै राम्रो प्रभाव परेको हो। निक्षेपको ब्याजदर क्रमशः घट्नु अनि ८% वा सो भन्दा कम ब्याजदरमा कर्जा पाइन थालेपछि लगानीकर्ता उत्साहित भएका हुन्। नेपाली शेयरबजारले करिब ४ वर्ष लामो वियरिस चक्र पनि पूरा गरेको छ।

नेप्से सूचक बुधबार २८.८९ अंकले बढेर १७०७.६७ विन्दुमा आइपुगेको छ। १ करोड २५ लाखभन्दा बढी कित्ता कारोबार भएको छ। फाइनान्सबाहेक बाँकी सबै समूहको सूचक वृद्धि भएको छ। सबैभन्दा धेरै निर्जीवन बिमा समूहको सूचक ३३९.३२ अंकले बढेको छ।

वाणिज्य बैंक समूह पनि १४.८८ अंकले बढेको छ। आधा दर्जन कम्पनीको भाउ बढेर सर्किट लागेको छ। खरिदबिक्री रकममा नेपाल टेलिकम अग्रस्थानमा छ। यसको २५ करोडभन्दा बढीको कारोबार भएको छ। दोस्रो र तेस्रोमा क्रमशः हिमालयन डिष्टिलरी र एनआइसी एसिया बैंक परेका छन्।


 

प्रकाशित मिति: : 2020-11-11 15:40:00

प्रतिकृया दिनुहोस्