वाइडेनका अगाडि चुनौतीको पहाड, कता जाला अमेरिका?

संजोग आचार्य

न्युयोर्क

अमेरिकी राष्ट्रपति घोषित जो वाइडेनका अगाडि अहिले देशको बिग्रिदो छवीमा सुधार गर्नु पहिलो प्राथमिकता हुनेछ। 

उनले अमेरिकी कुटनीतिज्ञ, इन्टेलिजेन्स र सैन्य सेवामा काम गर्ने व्यक्तिलाई सम्मान गर्नु आफ्नो पहिलो कर्तब्य भएको बताइसकेका छन्।

अन्य देशसँग सम्बन्ध सुमधुर बनाउने र सहानुभूतिपूर्ण अवस्था सिर्जना गर्ने दायित्व पनि उनको काँधमा थपिएको छ। अमेरिकामा भएको परिवर्तनको सन्देश विश्वभरिका अन्य देशको राजधानीसम्म पुर्‍याउनु पनि उनको अर्को कार्य हुनेछ। 

वाइडेनसामू अहिले ‘हनिमुन पिरियड’ अर्थात सय दिनमा अमेरिकी जनतालाई परिवर्तनको अनुभव गराउनु सबैभन्दा ठूलो चुनौती हो। चुनाव सम्पन्न भएर उनी निर्वाचित भएको घोषणा भइसक्दा पनि अमेरिकामा कोरोना संक्रमण थामिएको छैन। 

बरु संक्रमणको अवस्था बिकराल बन्दै नयाँ–नयाँ कीर्तिमानतर्फ लागेको छ। पछिल्लो दश दिनयता अमेरिकामा लगातार एक लाखभन्दा बढी संक्रमित फेला परेका छन्। 

ट्रम्पले खारेज गरेको जलवायु परिवर्तनसम्बन्धि पेरिस सम्झौंतालाई पुनः ब्युताउनु पनि वाइडेनको प्राथमिकताभित्र पर्छ। उनले चुनावअघि नै भनिसकेका छन्– जलवायु परिवर्तनको मुद्धा मेरो प्रशासनको महत्वपूर्ण कार्य हुनेछ। उनी पेरिस सम्झौंतालाई लागु गर्ने पक्षमा छन्। 

यस्तै, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) सँग बिग्रिएको अमेरिकी सम्बन्धलाई पुनर्वहाली गर्नु पनि उनको अर्को महत्वपूर्ण कार्य हुनेछ। डब्ल्यूएचओसँग सहकार्य गर्ने स्पस्ट सन्देश उनल पहिले नै दिइसकेका छन्।

 डब्ल्यूएचओसँग सम्बन्ध पुनस्र्थापित हुनेवित्तिकै कोराना भाइरसविरूद्धको लडाईंमा अमेरिका पनि विश्वका अन्य राष्ट्रसँग साझेदार हुनेछ। 

अमेरिकी विश्लेषकहरूले वाइडेनबाट अर्को पनि आशा गरेका छन्। उनीहरू यही ‘हनिमुनि पिरियड’ मा वाइडेनले विश्वभरिका लोकतान्त्रिक देशको शिखर सम्मेलनको आयोजना गरुन् र चीन, रुस, साउदी अरब, टर्की जस्ता देशसँग मानवअधिकार हनन्को मुद्धामा स्पस्टताका साथ उभिउन् भन्ने चाहना राख्छन्। 

यस्तै, इरानसँग परमाणु सम्झौंताको विषयमा पुनः वार्तालाप होस् भन्ने उनीहरूको कामना छ। 

परमाणु हतियारलाई निश्चित गर्ने विषयमा न्यु स्टार्ट सन्धि (स्ट्रेटेजिक आम्र्स रिडक्सन ट्रीटी) का लागि रुसलाई प्रोत्साहित गर्ने तथा यमनको गृहयुद्ध र साउदी अरबको आन्तरिक मामिलामा अमरिकाको समर्थन फिर्ता गर्ने विषयमा पनि ठोस कदम अगाडि बढोस् भन्ने सबैको चाहना छ। 

वाइडेन अमेरिकी राष्ट्रपति नियुक्त भएपनि उनलाई सिनेटमा काम गर्न सोचेजस्तो सहज हुनेछैन। रिपब्लिकन पार्टीको सिनेटमा बहुमत स्थापित भयो भने वाइडेनले जति नै विदेश नीति बनाए पनि यो प्रभावहीन हुनेछ। 

वाइडेनले चीनसँगको व्यापार–युद्धलाई कम गर्न सक्छन्। तर, फाइभ–जी नेटवर्क तथा दक्षिण चीन सागरमा चीनको दावी जस्ता मुद्धामा ट्रम्पको नीतिलाई खारेज गर्न निकै गाह्रो छ। 

यस्तै, ट्रम्प सरकारले रुसमाथि लगाएको प्रतिबन्धलाई वाइडेनले सहजै हटाउन सक्ने छैनन्। ट्रम्पको कार्यकालमा उत्तर कोरियासँगको सम्बन्धमा नयाँ आयाम देखिएको थियो। 

इजरायल–प्यालेस्टिन विवादप्रति ट्रम्पको एकतर्फी धारणा थियो। यी मुद्धाहरूमा ह्वाइट हाउसमा को बस्दैछ, त्यसले खासै महत्व नराख्ने विश्लेषकहरूको भनाई छ।  

वाइडेनले आफ्नो विदेश नीतिमा आफ्नो सेना विदेशमा भइरहेको युद्धमा समावेश नगर्ने ट्रम्पको नीतिलाई नै अगाडि बढाउने सम्भावना प्रबल छ। 

व्यापारको विषयमा निश्चय पनि वाइडेनले ट्रम्पको नीतिलाई पछ्याउने छैनन्। ट्रम्पले व्यापारमा कर लगाउने निर्णय गर्दा सबै देशसँग समान व्यवहार खोजेका थिए। 

उनले अमेरिकासँग नजिकको सम्बन्ध भएको छिमेकी तथा प्रतिस्पर्धी देशबीचको भिन्नतालाई खासै महत्व दिएका थिएनन्। 

यसैले अहिले ट्रम्प सत्ताबाट बाहिर हुँदा नाटो (एटलान्टिक ट्रिटी अर्गनाइजेसन) तथा युरोपेली संघलगायत अमेरिकाको सहयोगी देश निकै खुसी देखिन्छन्। 

वाइडेनको आगमनपछि नाटोमा समावेश राष्ट्रले अमेरिकालाई सुरक्षा सहयोगमा सहायता पुर्‍याउने सम्भावना बढेको छ ।

यति हुँदाहुँदै पनि वाइडेनका लागि स्थिति अझैं चुनौतीपूर्ण छ। किनभने विश्व अहिले २०१६ मा छैन। उत्तर कोरियासँगको सम्बन्ध विकाश गर्न, कार्बन उत्सर्जनमा कमि ल्याउन र चीनको आक्रामकतालाई रोक्न वाइडेनले फलामको चिउरा चपाउनुपर्ने देखिन्छ। 

यी बाहेक पनि ब्राजिलका दक्षिणपन्थी राष्ट्रपति तथा भेनेजुएलाका तानाशाहलाई अमेरिकी नियन्त्रणमा राख्नु वाइडेनको लागि अर्को चुनौतीपूर्ण कार्य हो। 

प्रकाशित मिति: : 2020-11-17 08:44:00

प्रतिकृया दिनुहोस्