लोकतन्त्रको फजिहत !

तस्बिर : अन्नपूर्ण पोष्ट

डा. घनश्याम भट्ट

अमेरिकामा रूढिवादी, भारतमा कट्टरपन्थी रूढिवादी र नेपालमा प्रगतिशील वामपन्थीको सरकार छ तर अमेरिका, भारत र नेपालमा एउटा समानता छ, त्यो हो– लोकतन्त्र। रूढिवादी, कट्टरपन्थी वा वामपन्थी सबैका लागि बहुलवाद, शक्ति पृथकीकरण, विधिको शासन र आवधिक निर्वाचनजस्ता लोकतान्त्रिक पद्धति समान हुन्। अमेरिकामा डोनाल्ड ट्रम्प, भारतमा नरेन्द्र मोदी र नेपालमा सत्तारुढ दलद्वारा लोकतन्त्रको फजिहत गर्ने कार्य भइरहेका छन्। अमेरिकी जनताले निर्वाचनलाई एक संवेदनहीन र अभद्र शासकबाट मुक्तिको अवसरका रूपमा लिए र आफ्नो गल्ती सच्याए तर भारतमा निर्वाचनद्वारा मोदी झनै ठूलो बहुमतले अनुमोदित भए। नेपालमा नेताहरूको खानपान र सेवासुविधाभन्दा माथि उठेर उच्च राजनीतिक बहस हुनै सकेको छैन।

लोकतन्त्रमा कुनै सरकारलाई स्वीकृत वा अस्वीकृत गर्ने सबभन्दा शान्तिपूर्ण आन्दोलन मतदान हो। अमेरिकी जनताले वर्तमान राष्ट्रपति ट्रम्पको दोस्रो कार्यकालको प्रयासलाई मतदानमार्फत अस्वीकार गरे। ट्रम्प आफ्नो पराजय स्वीकार नगरेर अमेरिकी लोकतन्त्रलाई एक अभूतपूर्व संकटमा लैजाने दिशामा अग्रसर भएका छन्। अदालतमार्फत कतिपय मत बदर गराउन उनी प्रयत्नशील छन्। दर्जनौं अदालतमा उनका मुद्दा पुगेका छन्। यो लोकतन्त्रको फजिहत गरेर भए पनि सरकारमा बसिरहने ट्रम्पको सर्वसत्तावादी दाउ हो। उनले सत्ता परिवर्तनका प्राविधिक प्रक्रियालाई प्रभावमा पारेर नवनिर्वाचित राष्ट्रपति जोसेफ बाइडनका लागि असहज वातावरण तयार गर्दैछन्। संसारमै लोकतन्त्रको प्रवर्धन गर्ने दाबी गर्ने अमेरिकाको आफ्नै सत्ता हस्तान्तरण एकजना नालायक नेताका कारणले अभूतपूर्व संकटमा छ।

प्रकाशित मिति: : 2020-11-19 12:23:00

प्रतिकृया दिनुहोस्