प्रदेश १ मा नाथमको तेस्रो शाखा

तेस्रो शाखाको रुपमा नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम)ले प्रदेश १ झापामा शाखा विस्तार गरेको छ।

बुधवार एक समारोहकाबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पुर्वी नेपाल, झापा जिल्लाको बिर्तामोडमा नाथमको शाखा उद्घाटन गरेका हुन्। 

उद्घाटन समारोहमा मन्त्री भट्टराईले पूर्वमा नेपालको सबभन्दा होचो भूभाग कचनाकवल, ईलाम र विश्वमै तेस्रो अग्लो हिमाल कञ्चनजंगा रहेकोले पर्यटकीय गन्तब्य महत्व बोकेको स्थान रहेको बताए। 

साथै उनले यो कलेज स्थापनाले पूर्वी नेपालको पर्यटन प्रचारप्रसार, प्रवर्धन र विकासमा समेत ठूलो योगदान पुर्‍याउने आशा ब्यक्त गरे। 

पछिल्लो केही वर्षदेखि होटल व्यवस्थापन पढाइको माग अत्याधिक बढेकोले प्रदेशस्तरमा शाखा विस्तार गर्ने नीति लिएकोले प्रदेश १ मा शाखा स्थापना गरिएको नाथमका कार्यकारी निर्देशक दीपक थापाले बताए।

उनले सबै शाखामा ब्याचलर अफ हस्पिटालिटि म्यानेजमेन्ट (बीएचएम)का लागि ८० जना र ब्याचलर अफ ट्राभल एण्ड टुरिजम (बीटीटीएम)मा ४० जना अध्ययन गर्ने क्षमता रहेको बताए। 

यसअघि नाथमले लुम्बिनी प्रदेशको बाँके र प्रदेश २ को महोत्तरीमा शाखा  स्थापना गरिसकेका छन्।

उद्घाटन समारोहमा विर्तामोड नगरपालिकाका प्रमुख धुर्व्र शिवाकोटी, संघिय सांसद पवित्रा निरौला खरेल, नाटाका केन्द्रीय अध्यक्ष अच्युत गुरागाईले मन्तब्य व्यक्त राखेका थिए।  

नाथम ४७ वर्षअघि स्थापित भएको सरकारी शैक्षिक संस्था हो। होटल र पर्यटन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ विसं २०२९ मा स्थापना गरेको यो प्रतिष्ठानले होटल व्यवस्थापन विषयमा स्नातकदेखि स्नातोकोत्तर तहको शैक्षिक अध्ययन, अध्यापन तथा पर्यटन सम्बन्धी तालीम सञ्चालन गर्दै आएको छ। 

पर्यटन तथा होटल व्यवस्थापनको अध्ययन हुने एकमात्र प्रतिष्ठित सरकारी निकाय हो नाथम। 

हाल नाथममा बीएचएम, बीटीटीएम र एमएचएम तहमा करीब १६ सय जना विद्यार्थीहरु अध्ययनरत छन्।


हालसम्म संस्थाले विभिन्न क्षेत्रका करिब ४८ हजार जनशक्ति उत्पादन गरिसकेको छ।

प्रकाशित मिति: : 2020-11-19 13:40:00

प्रतिकृया दिनुहोस्