शेयर बजारमा नयाँ कीर्तिमान, खरिदबिक्री रकम अहिलेसम्मकै बढी

बिएल संवाददाता

काठमाडाै‌ं

नेपालको पूँजी बजारकै इतिहासमा बिहीवार अहिलेसम्मकै धेरै रकमको कारोबार भएको छ। एकै दिन ६ अर्ब ११ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको हो।

प्रतिमिनेट झन्डै दुई करोड रुपैयाँका दरले शेयर कारोबार भएको छ । नेप्से सूचक ३६.३२ अंकले बढेर १७७८.१२ विन्दुमा पुगेको छ । यसअघिको अधिकतम १८८१ विन्दु नजिक पुगेको छ । कारोबार रकमले ऐतिहासिक कीर्तिमान कायम गरेको हो । 

लगानीकर्ता शेयर बजारप्रति उत्साहित हुँदा बजारमा खरिदबिक्री रकमको उत्साह छाएको हो । 

कोरोना कहरका बीचमा पनि सूचीकृत कम्पनीहरुले सन्तुलित वित्तीय विवरण सार्वजनिक गर्न सक्षम भएपछि लगानीकर्ता उत्साहित भएका हुन् । 
नाफा वृद्धि हुनु, निकै सस्तो ब्याजदरमा शेयर कर्जा पाइनु अनि शेयर बजार सुधारका लागि सरकारको भूमिका सकारात्मक बन्दा बजारले छलाङ मार्न सकेको हो ।

सूचक र कारोबार रकममा भारी तेजी आइरहँदा पनि अझै बैंक तथा वित्तीय संस्थाहरुको शेयरमूल्य बढेको छैन । यतिबेला लगानीकर्ताहरु बीमा, उत्पादनमूलक तथा व्यापारिक लगायतका समूहमा तेजी आएको छ । 
कोरोनाका कारण लगानीका अन्य क्षेत्रहरु संकुचित भएकाले पनि साना–ठूला, नयाँ अनि पुराना सबैप्रकारका लगानीकर्ता शेयर बजारमा आकर्षित भएका हुन् । यसबाहेक बजारले करिब ४ वर्ष लामो 'वियरिस चक्र' पार गरेको छ ।

 १९८ कम्पनीको ६ अर्ब ११ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । १ करोड ४० लाख भन्दा बढी कित्ता शेयर कारोबार भएको छ । कारोबार भएका सबै समूहका सूचक वृद्धि भएका छन् ।

प्रकाशित मिति: : 2020-11-19 15:43:00

प्रतिकृया दिनुहोस्