'प्रचण्डको जवाफ केस्राकेस्रा, रौं-रौं चिरेर आउँछ, सामना गर्न तयार रहे हुन्छ'

थाहा खबर

काठमाडौँ
तस्बिर : थाहा खबर

जगत भण्डारी

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षद्वयको विवाद ‘कि त छैनस् कि म छैन’ को स्थितिमा आइपुगेको छ।

पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लगाएका आरोप सही नभए प्रचण्डले र सही भए आफूले पद छाड्ने बताएका छन्।

बुधबार बसेको सचिवालय बैठकमा यसअघि प्रचण्डले बाँडेको प्रतिवेदनको जवाफ दिने क्रममा ओलीले सो प्रतिवेदनमा लगाइएका आरोप खारेज गर्दै त्यसको काउन्टरमा अर्को प्रतिवेदन ल्याउने र पूर्ण जवाफ दिने बताएपछि नेकपाको विवाद तत्काललाई १० दिन पर धकलिए पनि संकट झनै चुलिने सम्भावना रहेको नेताहरुको भनाइ छ।

यदि पार्टीलाई जोगाउने हो भने आरोपहरु मात्र लगाइएको प्रचण्डको प्रस्ताव फिर्ता लिनुपर्ने, नभए त्यसको मूल्य महँगो हुने ओलीपक्षका नेताहरुको चेतावनी छ। यसै सन्दर्भमा थाहाकर्मी जगत भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाकार सूर्य थापासँग गरेको कुराकानीको अंश।

लामो रस्साकस्सीपछि बुधबार सचिवालय बस्यो, बैठकमा प्रधानमन्त्रीले यसअघि २८ कात्तिकको सचिवालयमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेस गर्नुभएको प्रतिवेदनको जवाफमा अर्को प्रतिवेदन लेख्ने र त्यसका लागि १० दिन समय लाग्ने भन्नुभएछ। यसरी एक अर्काविरुद्ध आरोप प्रत्यारोप लगाएरै विवाद समाधान हुन्छ कि? झन् बल्झिन्छ ?

म तपाईंलाई सुरुमै के स्पष्ट पार्न चाहन्छु भने, अर्का अध्यक्ष(दाहाल)ले २८ गतेको बैठकमा त्यो प्रस्ताव प्रस्तुत गर्नुभएको होइन। पार्टीका अध्यक्ष र अरु सदस्यहरुलाई बाँड्नुभएको हो।

औपचारिक प्रस्ताव एजेण्डाको रुपमा सहमतिको प्रस्ताव होइन। त्यसलाई मैले अराजनीतिक प्रस्ताव भन्ने गरेको छु। त्यो मिडियाको खपतका लागि प्रधानमन्त्री र पार्टी अध्यक्षलाई बदनाम गर्न र स्थापित नेतृत्वलाई खुइल्याएर आफ्नो स्वार्थ सिद्ध गर्न रचिएको प्रपन्च थियो।

त्यो बैठकको प्रस्ताव थिएन। त्यसरी उहाँले प्रस्ताव ल्याउने अधिकार पनि छैन। त्यो अनधिकृत हो। तथ्यहरुको भ्रष्टीकरण हो। गैरजिम्मेवारी तरिका हो। र हाम्रो पार्टीको अध्यक्ष तहमा प्रकट भएको संस्कारहीनता पनि हो भनेर भन्ने गरेको छु।

प्रकाशित मिति: : 2020-11-20 10:55:00

प्रतिकृया दिनुहोस्