ढकाल प्यानलका दुई उम्मेदवार निर्विरोध, १२७ जना भिड्दै

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचनमा ७४ पदका लागि १ सय २७ जनाबीच प्रतिस्पर्धा हुने भएको छ। उम्मेदवारको पहिलो नामावली बिहीबार साँझ प्रकाशन गरिएकाे छ। 

निर्वाचन समितिका अनुसार दुई वटा पदमा आवश्यक संख्यामा मात्र उम्मेदवारी परेको छ। जसले गर्दा दुवै जना निर्विरोध भएका छन्। द्विराष्ट्रिय संघमा नेपाल–इन्डोनेसिया चेम्बर अफ कमर्सका अध्यक्ष सन्दीप अग्रवाल निर्विरोध निर्वाचित भएका छन्।

प्रत्येक प्रदेशबाट एक–एक जना केन्द्रीय सदस्य निर्वाचित हुनेछन्। जसअनुसार प्रदेश १ बाट मोरङ व्यापार संघका राजेन्द्र राउत निर्विरोध भएका हुन्। तर निर्वाचन समितिले भने निर्विरोध भएको घोषणा गरिसकेको छैन।

निर्विरोध भएका दुवै सदस्य वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार चन्द्र ढकालको प्यानलका हुन्। ढकाल र किशोर प्रधानले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन्। 
 
मतदान गर्न पाउनेमा जिल्ला नगर उद्योग वाणिज्य संघतर्फ १ सय ७, वस्तुगत समूहतर्फ १ सय १ र द्विराष्ट्रिय उद्योग वाणिज्य संघ समूहमा १२ वटा मताधिकार छन्।

एसोसिएट समूहतर्फ ९ सय २३ छन्। उम्मेदवारको अन्तिम नामावली भने मंसिर ८ गते प्रकाशन गरिनेछ। समितिका अनुसार निर्वाचन मंसिर १३ मा हुनेछ।

प्रकाशित मिति: : 2020-11-20 13:07:00

प्रतिकृया दिनुहोस्