तस्करी नियन्त्रण गर्न हेरालुको सामूहिक गस्ती

नागरिक दैनिक

काठमाडाैं
https://nagariknews.nagariknetwork.com/social-affairs/386621-1605964880.html

भजनी क्षेत्रका सामुदायिक वनका हेरालु वन संरक्षणमा एकजुट भई संयुक्त गस्ती गर्न थालेका छन्। रातिको समयमा काठ तस्करी हुन थालेपछि सामुदायिक वनका हेरालुहरुले समूह बनाई सामूहिक गस्ती गर्न थालेका हुन्।  

सामुदायिक वनमा रातिको समयमा एक/दुई जना हेरालुले तस्करी रोक्न नसक्ने हुँदा छिमेकी सबै सामुदायिक वनका हेरालु एक ठाउँमा भेला भई संयुक्त गस्ती गर्ने गरेको हेरालु सञ्जालका भजनी अध्यक्ष गोकर्ण चौधरीले बताए। उनले भने,‘सामुदायिक वनमा रातिको समयमा तस्करी बढ्न थालेपछि एक/दुई जना हेरालु जान नसक्ने हुँदा लठ्ठी बोकेर संयुक्त रुपमा गस्ती गर्न थालेका हौँ।’  

पहिले रातिको समयमा अत्याधिक काठ तस्करी हुने गरेको बताउँदै अर्का वन हेरालु जुगराम डगौरा थारूले भने,‘हाम्रो सामुदायिक वनमा दुई जना हेरालु छौँ, दुई जनाले तस्करी हुन थालेको रोक्न सक्दैनौँ, त्यही भएर रातिको समयमा छिमेकी सामुदायिक वनका हेरालुको सहयोग मागेर सामूहिक गस्तीमा निस्कन्छौँ।’ सामूहिक गस्ती गरिन थालिएपछि तस्करी गर्नेहरु पनि डरले रातिको समयमा जंगल जान छाडेको उनले बताए। ‘एक/दुई हेरालुलाई तस्करहरुले हातपातका साथै कुटपिट गर्ने र ज्यानकै जोखिम बढ्ने भएकाले सामूहिक गस्ती जाँदा तस्करहरु डरले भाग्ने गरेका छन्,’ उनले भने,‘रातिको समयमा चोरी भइरहेको थाहा पाएपछि सामूहिक गस्तीमा जाँदा तस्करहरुले अवैध काठ बाटोमै छाडेर भागेको बेलाबखत भेटेका छौँ।’ रातिको समयमा एक्ला एक्लै गस्तीमा जाँदा तस्करहरुले कुटेको घटना सम्झँदै हेरालु सञ्जालका अध्यक्ष गोकर्णले भने,‘पहिले हेरालु एक्लै जाँदा धेरै पटक कुटाइ मात्रै खाएनन् कि ज्यानै जोखिममा परेको थियो, तर अहिले भने सामूहिक गस्तीमा जाँदा तस्करहरु उल्टै डरले भाग्न थालेका छन्। जसले गर्दा तस्करी रोक्नमा सहयोग पुगेको छ।’  

प्रकाशित मिति: : 2020-11-22 01:00:00

प्रतिकृया दिनुहोस्