शेयरबजारमा अर्को कीर्तिमान, सूचक बढेर १७८२.८१ बिन्दुमा

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेयर खरिदबिक्री रकमले आइतबार फेरि नयाँ रेकर्ड कायम गरेको छ । २०१ कम्पनीको ६ अर्ब ९० करोड ६७ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । १ करोड ६० लाख भन्दा बढी कित्ता सेयर खरिदबिक्री भएका छन् ।

सर्वसाधारण लगानीकर्ता उत्साहित हुँदै जाँदा सेयर बजारमा कारोबारका नयाँ कीर्तिमानहरु बन्दै गएका छन् । 

आइतबार प्रतिमिनेट औसतमा २ करोड ८७ लाख ७८ हजार रुपैयाँको सेयर कारोबार भएको छ । यसअघि बिहीबार हालसम्मकै धेरै रकमको सेयर कारोबार भएको थियो । सो रेकर्ड आइतबार फेरि तोडिएको हो ।

पहिले दिनभरिमा जम्मा २० करोडभन्दा कमको कारोबार भएको बजारमा अहिले प्रति मिनेटमै २ करोड ८७ लाख ७८ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार हुन थालेको हो । 

नेप्से सूचकले आइतबार १८ सय विन्दुको मनोवैज्ञानिक रेखालाई पनि पार गरेर फर्किएको हो । अब नेप्से यसअघिको अधिकतम विन्दु १८८१ बाट निकै नजिक छ ।

नेप्से सूचक आइतबार ४.६९ अंकले बढेर १७८२.८१ विन्दुमा आइपुगेको छ । कुल १२ समूहको कारोबार भएकामा ३ समूहका सूचक वृद्धि भएका छन् भने बाँकी समूह तल झरेका छन् ।

सिटिजन्स म्युचुअल फन्ड २ का लगानीकर्ताले सबैभन्दा धेरै १०% का दरले कमाएका छन् । यता, माउन्टेन हाइड्रो नेपालका लगानीकर्ताले सबैभन्दा धेरै ८.९३% का दरले गुमाएका छन् । 

खरिदबिक्री रकममा नेपाल पुनर्बिमा कम्पनी अग्रस्थानमा छ । यसको ५७ करोड ९१ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । दोस्रोमा नेपाल लाइफ इन्सुरेन्स र तेस्रोमा नेपाल टेलिकम परेका छन् ।

प्रकाशित मिति: : 2020-11-22 15:46:00

प्रतिकृया दिनुहोस्