​​​​​​​ट्रम्प जी-२० बंक गरेर गल्फ कोर्समा : यसरी कायम रहला त अमेरिकी प्रतिष्ठा ?

गत सप्ताहान्तको शुक्रबार र शनिबार विश्वका विकसित राष्ट्रहरूको संगठन जी ट्वान्टीको भर्चुअल सम्मेलन जारी थियो। साउदी अरबले आयोजना गरेको सम्मेलनको नाम दिइएको थियो, रियाध सम्मेलन। सम्मेलनको केन्द्रमा थियो कोभिड-१९ शत्र। विश्वका शक्तिशाली नेताहरू कोभिड-१९ महामारीका विरूद्ध कसरी लड्ने भन्ने बारेमा छलफलमा सहभागी हुनेवाला थिए।

जी ट्वान्टीको एक प्रमुख सदस्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प यसमा सहभागी हुने निश्चित कार्यक्रम थियो। तर, कोभिड-१९ शत्र सुरू हुन केही मिनेट अघि उनले ट्वीट गरे, 'अमेरिकाको राष्ट्रपति म हुँ र यसपटक पनि मैले नै जितेको हुँ।' 

त्यसपछि उनी कोभिड-१९ शत्रमा गयल भए। शत्र बंक गरेर उनी गल्फ खेल्न भर्जिनियातिर लागेका रहेछन्,  केही समयपछि नै उनी गल्फ खेलिरहेको तस्विर अमेरिकी मूलधारमा मिडयाले सार्वजनिक गरे। 

झट्ट हेर्दा अमेरिकी जनताले विश्वास नै गर्न नसक्ने दृश्य थियो। कसरी अमेरिकाको राष्ट्रपति जी- ट्वान्टीको कोभिड-१९ सत्र बंक गरेर गल्फ खेल्न जान सक्छ ? यो कुनै व्यक्ति गयल भएको हैन, अमेरिकी राष्ट्रपति गयल भएको हो । यो भनेको अमेरिका र अमेरिकी जनता गयल भएको हो। कोभिड-१९ जस्तो महामारीका बारेमा छलफल हुने सत्रमा ट्रम्पले बंक गर्नु भनेको अमेरिकाले यसको संवदेनशीलता नबुझ्नु हो र अमेरिका विश्व भूमिकाबाट खुम्चिनु हो। 

के यसरी अमेरिकाको विश्व प्रतिष्ठा बढ्छ ? के यसरी अमेरिकाको विश्व भूमिका निर्वाह हुन्छ ? के यसरी अमेरिका विश्व दायित्वबाट भाग्न मिल्छ? 

अमेरिकी राष्ट्रपति ट्रम्प जी-२० भर्चुअल विश्व सम्मेलनको कोभिड-१९ सत्र बंक गरेर गल्फ कोर्समा देखिए।उनको यो एब्नर्मल व्यवहार देखेर विश्वका नेताहरू त छक्क परे नै, अमेरिकी जनता पनि लज्जित भए। 

यी प्रश्नहरूको उत्तर सबै नकारात्मक आउँछन्।यस्तै गलत भूमिकाका कारण नै ट्रम्प अमेरिकी जनताबाट दण्डित भएका हुन्। अमेरिकी जनताले उनका यस्ता सन्की व्यवहारलाई खारेज गरिदिएका हुन्। 

आखिर किन ट्रम्पले यसो गरे त ? यसको उत्तर सहज छ, जी ट्वान्टीमा रहेको रूस बाहेक अन्य सबै राष्ट्रले बाइडनको जीतलाई अनुमोदन गर्दै उनलाई वधाइ तथा शुभकामना दिए। चुनावमा आफै विजयी भएको घोषणा गरेका सन्की स्वभावका ट्रम्पलाई यो पच्ने कुरै भएन। त्यसमा पनि यो सम्मेलनको आयोजक साउदी अरवले त उनलाई विजयी भएको मान्यता देला भन्ने आशा थियो, त्यो पनि सम्भव भएन। यसबाट उनको सनक चल्यो। र, उनलाई लाग्यो मलाई मान्यता नदिने उनीहरूलाई किन मान्यता दिने? त्यसपछि उनी जी ट्वान्टी नै बंक गरेर गल्फ कोर्सतिर लागे। 

अमेरिकी राष्ट्रपतिबाट के यस्तो व्यवहार अपेक्षित हो ? हैन र हुनु पनि हुदैन। तर, ट्रम्पबाट योभन्दा बढी त आशा गर्न सकिने कुरा पनि भएन। यो त एउटा प्रतिनिधि सनक मात्र हो उनले २०२१ को जनवरी २० मा ह्वाइट हाउस छोड्नुअघि यस्तै सन्की व्यवहार गरेर अमेरिकाको प्रतिष्ठा अरू जोखिममा पार्न कोशिस गर्ने हुन्। तर, सबैलाइ थाहा छ अबको अमेरिका ट्रम्पेरिका हैन् र उनले प्रतिनिधित्व गर्ने पनि हैनन्।अमेरिकाका विश्व साझेदारले यसलाई राम्ररी नै बुझेका छन्। उनीहरू ट्रम्पेरिकालाई जतिसक्दो चाँडो विस्मृतिमा लिन चाहन्छन्। 

प्रकाशित मिति: : 2020-11-23 02:21:00

प्रतिकृया दिनुहोस्