खाद्यान्न ढुवानीमा निरन्तर भ्रष्टाचार

नेपाल लाइभ

काठमाडौँ
तस्बिर : नेपाल लाइभ

गौरीबहादुर कार्की

हालै कर्णालीको मुगु पठाउनु पर्ने चामल भक्तपुर लैजान लाग्दा सुर्खेत उपत्यकाकै पूर्वी नाका सुब्बाकुनामा बरामद गरियो। नियन्त्रणमा लिइएको ट्रकमा २५० क्वीन्टल चामल लोड रहेछ। 

सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले मुगुका लागि चामल ढुवानी गर्न दुर्गा भगवती इन्टरप्राइजेजलाई ठेक्का दिएको थियो। कम्पनीको सुर्खेत वीरेन्द्रनगरको गोदामबाट असोज २६ गतेसम्म जापानी चामल १ हजार क्वीन्टल र अरुवा चामल सय क्वीन्टल ठेकेदारले बुझेको देखिन्छ। ठेकेदारले चामल बुझेपछि १५ दिनभित्र ढुवानी गरेर कम्पनीको तोकिएको डिपोमा बुझाई सक्नु पर्नेमा अहिलेसम्म पुगेको छैन। 

जिल्ला प्रशासन कार्यालय सुर्खेतले ठेकेदारको गोदाम सिल गरेर कागजपत्र नियन्त्रणमा लिएको छ। यसबारे छानबिन गरिरहेको प्रशासनले जनाएको छ। 

कम्पनीले दिएको चामल बाहिर पठाएर अर्कै चामल ठेक्का स्थानमा पुर्‍याइदिने कुरा आपूर्तिकर्ता वासुदेव शर्माले बताएको पाइयो । बरामद गरिएको चामल छाड्न निकै दबाब आएछ। उनी सो इन्टरप्राइजेज र शर्मा निर्माण सेवाका प्रोप्राइटर रहेछन्। शर्मा निर्माण सेवा खाद्य कम्पनीको ठेकेदार रहेछ। त्यही ठेकेदारले कम्पनीबाट उठाएको चामल उनकै अर्को फर्म इन्टरप्राइजेजमार्फत् भक्तपुरको अजय सप्लायर्सलाई पठाउन लागेका थिए। शर्माको निर्माण सेवाले यो आर्थिक वर्षका लागि मुगुको कालैका लागि ४ हजार क्वीन्टल, सोरुकोट, पुलु र कालीकोटको थिर्पुका लागि एक–एक हजार क्वीन्टल तथा दैलेखको चामुण्डा र ठाँटीकाँधका लागि ५।५ सय क्वीन्टल चामल ढुवानी गर्ने ठेक्का पाएको देखिन्छ। 

प्रकाशित मिति: : 2020-11-24 12:05:00

प्रतिकृया दिनुहोस्