कांग्रेसलाई ‘बालुवाटारको ललीपप’

सांकेतिक तस्बिर

विष्णु सुवेदी

बालुवाटारमा शनिबार अपरान्ह प्रधानमन्‍त्री केपी ओली र प्रमुख प्रतिपक्षी नेता एवं कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको भलाकुसारीले यतिबेला राजनीति  तातेको छ। सत्ता र प्रतिपक्ष दुवैतिरको आन्तरिक जीवनलाई पनि यसले तरंगित गरेको छ। तीन घन्टा लामो भेटमा केके कुराकानी भए, त्यो दुवै पक्षले गोप्य राखेका छन्। बालुवाटारमा भएको यो ’गोप्य डिल’ लाई लिएर दुवै पार्टीमा अनेक कोणबाट प्रश्‍न एवं प्रतिक्रिया आएका छन्।

‘बालुवाटार भेटवार्ता’ को झन्डै २४ घन्टापछि आइतबार अपरान्हतिर कांग्रेस प्रवक्ता विश्‍वप्रकाश शर्माले एउटा ट्विट गरेका छन्। भेटवार्ताको जानकारी तथा त्यससम्बन्धी पार्टीको संस्थागत धारणा भन्दा अलि प्रतीकात्मक खालको छ उनको ट्विट। पाँच वर्ष विपक्षमा बस्‍ने जनादेश दिएकाले कुनै पनि भड्कावबाट टाढा रहने र नेकपाको द्वन्द्वमा विल्कुल निरपेक्ष रहने उनले बताएका छन्। ‘बालुवाटार भलाकुसारी’ बारे कति अवगत भएर उनले यो ट्‍िवट गरे, त्यो राजनीतिक घटनाक्रमसँगै विस्तारै खुलासा हुनेछ। तर बालुवाटारको गोप्य डिलपछि सम्भावित प्रतिक्रिया र तरंगलाई थोरै भए पनि टाल्‍ने प्रयास उनले गरेका छन्।

प्रधानमन्‍त्रीले बोलाएपछि प्रमुख प्रतिपक्ष दलको नेताले भेट्नु र कुराकानी गर्नु स्वाभाविक हो। तर कुन प्रसंग र एजेन्डामा प्रधानमन्त्रीले भेट्न चाहेका छन्, त्यसको सन्देश के जान्छ भन्‍ने महŒवपूर्ण हो। त्यो पक्षलाई प्रतिपक्ष नेताले ख्याल गर्नुपर्छ। बालुवाटारले बोलाउनेबित्तिकै दंग भएर दौडिहाल्‍नु सशक्त प्रतिपक्षको चरित्र मान्‍न सकिँदैन। यस्तो लुरे प्रवृत्तिले प्रतिपक्षको भूमिका थप कमजोर बन्न सक्छ।

यतिबेला ‘ज्ञानी’ प्रतिपक्ष पाएर ओली दंग छन्। सायद इतिहासमा यति ‘कमजोर र सद्दे’ प्रतिपक्ष कुनै सत्ताले भोग गर्न पाएको थिएन होला। बरु पार्टीभित्रैका प्रतिपक्षले उनलाई दुःख दिएका छन्। पार्टीभित्रैबाट चर्को घेराबन्दी र असहयोगको सामना गरिरहेका ओलीलाई प्रतिपक्षको मौन र कमजोर भूमिका राहत नै बनेको छ। पार्टीभित्रका विरोधीले हैरान गर्दा ओलीले बेलाबेला देउवालाई बालुवाटार बोलाएर दुःखसुख साट्ने गर्छन्। ओलीले जहिले बोलाउँदा पनि देउवा ‘ज्ञानी’ भएर खुरुखुरु बालुवाटार पुग्‍ने गरेका छन्। बालुवाटारसँगको देउवाको यो उठबस पार्टीभित्रै पनि बहसको विषय हुने गरेको छ।

प्रकाशित मिति: : 2020-11-24 12:26:00

प्रतिकृया दिनुहोस्