जसले नेपाली कथालाई अफ्रिका-युरोप पुर्‍याइन्, पुरस्कार पाइन्

सेतोपाटी

काठमाडाैं

कथा–कहानीमा मान्छेले निजी सम्बन्ध खोज्छ र भेट्छ। मान्छेले आफ्नो समाज र परिवेशसँग साइनो गाँस्ने साथी पनि हो कथा। 

संगीता श्रेष्ठले पनि सानै उमेरदेखि कथालाई साथी बनाइन्। अरूका कथा पढेर, सुनेर कल्पना र भावनाको उडान भर्दाभर्दै उनी आफैं कथा भन्न थालिन्। अचेल उनको मुख्य काम नै कथा भन्नु हो। 

भन्ने त कथा नै हो, तर उनले भन्न अपनाउने माध्यम एउटै छैनन्। उनी रेडियो, टेलिभिजन, म्युजिक भिडिओ र फिल्मका माध्यमबाट कथा भनिरहेकी छिन्। 

लेखनमा पनि उत्तिकै सक्रिय उनलाई निर्देशकका रूपमा बढी चिनिन थालिएको छ। पछिल्लो समय उनले निर्देशन गरेको छोटो फिल्म 'आइसक्रिम' अचेल चर्चामा छ। यो चर्चा क्षेत्रीय सीमा नाघेर अफ्रिकादेखि युरोपसम्म फैलिएको छ। हालै नाइजेरियामा सम्पन्न 'अफ्रिका फिल्म फर इम्प्याक्ट फेस्टिभल' मा आइसक्रिम पाँच विधामा मनोनित भई दुई मुख्य पुरस्कार जित्न सफल भयो। फिल्म गत नोभेम्बर ३ देखि ७ सम्म भर्चुअल रूपमा भएको फेस्टिभलको पहिलो दिन प्रदर्शन भएको थियो।

आइसक्रिम उत्कृष्ट निर्देशक, उत्कृष्ट फिल्म, उत्कृष्ट अभिनेता (महिला), उत्कृष्ट स्क्रिन प्ले र उत्कृष्ट सम्पादन विधामा मनोनित भएको थियो।

'यो सोचेभन्दा ठूलो र रमाइलो उपलब्धि हो,' निर्देशक संगीताले खुसी साटिन्।

बाल यौनशोषणको विषयमा बनाइएको यो फिल्ममा सडकमा माग्दै हिँड्ने बालिकाको कथा छ। योगिशा खत्रीको मुख्य भूमिका रहेको फिल्म ९ मिनेट लामो छ।

प्रकाशित मिति: : 2020-11-25 10:09:00

प्रतिकृया दिनुहोस्