‘महासंघको छवि सुधार्ने टोली बनेर काम गर्न चाहन्छौँ’

हिमाल खबर

काठमाडौँ
तस्बिर : हिमालखबर

पोखराबाट झण्डै पाँच दशकअघि व्यवसाय शुरू गरेको लक्ष्मी समूह उद्योग र व्यापारका क्षेत्रमा स्थापित भइसकेको छ। यो समूहको नेतृत्व दोस्रो पुस्तासम्म आइपुग्दा डेढ दर्जन कम्पनीमार्फत् करीब तीन हजार जनालाई रोजगारी दिएको छ। लक्ष्मी समूहका कार्यकारी निर्देशक अञ्जन श्रेष्ठसँग नेपालको व्यावसायिक क्षेत्र तथा नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका विषयमा राजु बास्कोटाले गरेको कुराकानी :

महामारीको असर अर्थतन्त्रमा पनि परेको छ। अब कसरी व्यापार व्यवसायको पुनरुत्थान हुन्छ?
व्यवसाय विस्तारै लयमा फर्कंदैछ। कोरोनाभाइरस र यसको संक्रमणबारे धेरैलाई जानकारी भइसकेकोले अब कसरी व्यवस्थापन गर्दै जीवनपद्धति सञ्चालन गर्ने भन्ने हिसाबले अगाडि बढिरहिएको अवस्था छ। केही क्षेत्रबाहेक सबै व्यवसाय विस्तारै सामान्य हुँदै जान थालेका छन्। मनोरन्जन, विद्यालय, पर्यटनसहितका अति प्रभावित बाहेक अब अन्य क्षेत्र विस्तारै लयमा आउँछन् भन्ने अनुमान गर्न थालिएको छ। सन् २०२१ सम्ममा खोप आउँछ भन्ने आशा पनि छ। त्यसपछि कोरोनासँगै जाने जीवनपद्धति बन्छ र व्यापार व्यवसाय पूर्णरुपमा लयमा आउँछ भन्ने अनुमान गर्न सकिन्छ।

अति प्रभावित बाहेकका क्षेत्रमा कसरी काम भइरहेको छ?
एकै पटक महामारीले थिलथिलो भएका क्षेत्र लयमा आइहाल्छ भनेर आशा गरिहाल्न सकिंदैन। ती क्षेत्र कति प्रभावित छन् र कुन गतिमा पुनरुत्थान हुन्छ भनेर हेर्नुपर्छ। कम प्रभावित क्षेत्र विस्तारै अगाडि जाने क्रममा अरु क्षेत्रलाई त्यसले डोर्याउँछ भन्ने लाग्छ। तर, जबसम्म कोरोनाको खोप बनेर प्रयोगमा आउँदैन तबसम्म व्यवसाय पुनरुत्थान हुने र यति समयभित्र यो गतिमा पुग्छ भनेर ठ्याक्कै भन्न सकिंदैन। पर्यटन, होटल अन्य कलकारखाना विस्तारै खुल्दै जालान्।

महामारीपछि नयाँ लगानीको विस्तार रोकियो। अब, व्यावसायिक क्षेत्रको मनोबल बढ्न कति समय कुनुपर्छ?
व्यवसायीले मनोबल बनाएर नै अगाडि बढिरहेकाले आर्थिक गतिविधि बढ्न थालेको छ। नेपाल उद्योग वाणिज्य महासंघले पनि व्यावसायिक क्षेत्रको मनोबल उच्च बनाउन र लगानी सुरक्षाको लागि महत्वपूर्ण भूमिका खेल्दै आएको छ। कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा उद्योग व्यवसायको योगदान बढाउने गरी हामी काम गरिरहेका छौं। यसका लागि भिजन र मिसन बनाइरहेका छौं। महासंघले १० प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न गर्नुपर्ने नीतिगतदेखि पूर्वाधार विस्तार र लगानीसम्मको योजनालाई अगाडि सारेको छ। पुराना ऐन नियमलाई संशोधन गर्नुपर्छ। व्यावसायिक क्षेत्रलाई नियमन भन्दा पनि नियन्त्रण गर्ने भन्ने खालको नीति छ। यसलाई सहज बनाउनुपर्छ।
 

प्रकाशित मिति: : 2020-11-25 14:24:00

प्रतिकृया दिनुहोस्