परराष्ट्रमन्त्रीस्तरीय वार्ताको लागि नेपाललाई डिसेम्बरको दोस्रो साता भारतको निम्तो

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृगंलाले परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीलाई परराष्ट्र मन्त्री स्तरीय बैठकको निम्तो दिएका छन्।

बैठकको मिति यकिन नभए पनि डिसेम्बरको दोस्रो साता बैठक गर्ने निम्ताे दिएका हुन्। 

परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठक २३ वर्षपछि सन् २०१४ मा बसेको थियो जसले कालापानी र सुस्तालगायतका विवाद समाधानका लागि गृहकार्य गर्न परराष्ट्र सचिवलाई निर्देशन दिएको थियो।

त्यसपछि सन् २०१६ र २०१८ मा सो आयोगको बैठक बसेको थियो। सो बैठक दुवै देशले पालैपालो गर्ने परम्परा छ।

कोभिड–१९ र दुई देशको सीमा विवादका कारण नेपाल र भारतको बिचमा रोकिएका द्विपक्षीय संयन्त्रका बैठकहरु सुचारु गर्ने विषयमा समेत कुराकानी भएको छ। नेपाल र भारतको बिचमा डेढ दर्जन द्विपक्षीय संयन्त्रहरु रहेका छन् जसको नियमित बैठक हुन सकेको छैन।

गत वर्ष भारतले नेपाली भूभाग अतिक्रमण गरेर नयाँ नक्सा जारी गरेपछि चिसिएको सम्बन्ध विस्तारै सुध्रिदै गएको छ। यति मात्र होइन, एक वर्षपछि नयाँ नक्साको विषयले औपचारिक कूटनीतिक प्लेटफर्ममा प्रवेश पाएको छ।
 

प्रकाशित मिति: : 2020-11-27 14:12:00

प्रतिकृया दिनुहोस्