नेपालमा कोरोना संक्रमण दर के घटेकै हो ?

रातोपाटी

काठमाडौँ
फाइल तस्बिर

माया श्रेष्ठ

सरकारी तथ्याङ्कलाई केलाउँदा नेपालमा कोरोनाभाइरस कोभिड—१९ का संक्रमितको संख्या दैनिक रुपमा घट्दै गइरहेको छ । तर, पछिल्ला दिनहरुमा कोभिड—१९ कै कारण मृत्यु हुने र आइसियू, भेन्टिलेटरमा भर्ना हुनेको संख्या भने बढ्दै गएको छ  ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तथ्यांकअनुसार अघिल्लो महिनाको तुलनामा मंसिर महिनामा कोरोना संक्रमणको दर झन्डै १० प्रतिशतले घटेको छ । त्यसअनुसार, कार्तिक १३ गते संक्रमण दर २४.१९ प्रतिशत थियो भने मंसिर १३ संक्रमण दर १३.४ प्रतिशतमा झरेको छ । यता इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र विश्व स्वास्थ्य संगठनले गरेको अध्ययनले नेपालमा कोरोनाभाइरस कोभिड—१९ समुदायस्तरमा फैलिएको देखाएको छ ।  प्रदेश २ र बाग्मती प्रदेशमा संक्रमण समुदायमा फैलिएको अध्ययनले देखाएकाले यस बारेमा अध्ययन गरेर रिर्पोट सार्वजनिक गर्ने तयारीमा स्वास्थ्य मन्त्रालय  जुटेको छ । त्यसअनुसार हिजो काठमाडौंमा एकचरणको एन्टिजेन परीक्षण पनि गरिएको छ । काठमाडौं महानगरपालिकाको कोरोनासंक्रमण बढी देखिएका वडाहरु ४, ५, ७ र ९ मा गरिएको सो निःशुल्क एन्टिजेन परीक्षणमा सरकारले प्रति वडा ५०० जनाको परीक्षण गर्ने लक्ष्य राखेको थियो तर अपेक्षा गरेको तुलनामा निक्कै कम मात्रै मानिसहरु सहभागी भएका थिए ।

पछिल्लो समय वृद्धवृद्धा, दीर्घरोगी, बालकालिका र युवामा संक्रमण देखिन थालेको छ । तर, अचम्मको कुरा स्वास्थ्य मन्त्रालयले भने संक्रमण दर घट्दै गइरहेको तंथ्याङ सार्वजनिक गर्दै आएको छ । तर वास्तविक अवस्था त्योभन्दा फरक रहेको र अहिले परीक्षण दर घटेको कारण मात्रै संक्रमणको दर पनि घटेको जस्तो देखिएको जनस्वास्थ्यविज्ञहरुले बताउन थालेका छन् ।

संक्रमण दर घटेको तंथ्याङ्क सार्वजनिक हुँदैमा विश्वास गरिहाल्न सकिने अवस्था नरहेको सरुवा रोग विशेषज्ञहरु पनि बताउँछन् । दसैं तिहारसँगै एक महिना यता स्वास्थ्य मन्त्रालयले नेपालमा संक्रमण दर घटेको तंथ्याङ सार्वजनिक गरिरहँदा सरुवारोग विशषज्ञ डा. शेरबहादुर पुन र डा. प्रभात अधिकारी चाहिँ हालको स्थितिमा संक्रमणले ६० वर्ष काटेका जेष्ठ नागरिकहरुको मृत्यु बढी हुने गरेको देखिएको तथा आइसियू, भेन्टिलेटर, अक्सिजनको आवश्यक पर्ने बिरामीको संख्या पनि बढ्दै गइरहेको बताउँछन् ।

 

प्रकाशित मिति: : 2020-12-01 13:31:00

प्रतिकृया दिनुहोस्