मिलानको जितमा लुकाकुको दुई गाेल

बिएल संवाददाता

काठमाडाै‌ं

इटालियन क्लब इन्टर मिलानले युइएफए च्याम्पियन्स लिगको समूह चरणको पाँचौ खेलमा जर्मन क्लब बोरुसिया मोन्चेनग्लाडवाकमाथि रोमाञ्चक जित निकालेको छ।

बोरुसिया पार्क मोन्चेनग्लाडवाकमा मंगलबार राति भएको खेलमाबेल्जियन फरवार्ड रोमेलु लुकाकुको दुई गोल सहयोगमा ३–२ को जित हात पारेको हो।

यता माटियो डार्मियनले एक गोल थपे। घरेलु टोलीका लागि एलासेन प्लेयाले दुई गोल गरेपनि हार टार्न सकेन। 

मिलानले खेलको १७औं मिनेटमा माटियो डार्मियनको गोलबाट अग्रता लिएको थियो।  पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा एलासेन प्लेयाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए।

६४औं मिनेटमा लुकाकुले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याए।

७३औं मिनेटमा लुकाकुले व्यक्तिगत दोस्रो गोल गरेपछि इन्टर मिलानले खेलमा ३–१ को अग्रता लिदै जिततर्फ अग्रसर बन्यो।

७६औं मिनेटमा एलासेन प्लेयाले मार्कुस थुरामको पासमा गोल गर्दै घरेलु टोलीलाई खेलमा फर्कने संकेत दिए। ८३औं मिनेटमा प्लेयाले गोल गरेपनि उनी अफसाइड ठहरिदा घरेलु टोली बराबरीबाट चुक्यो।

मिलानको जितले समूह ‘बी’ बाट सबै चार टोलीको नकआउट चरण पुग्ने बाटो खुल्ला भएको छ। 

समूह चरणमा मोन्चेनग्लाडवाकको यो पहिलो हार हो। इन्टरसँगको हारसँगै बोरुसिया मोन्चेनग्लाडवाकले नकआउट चरण प्रवेशको लागि अर्को खेल नै कुर्नुपर्ने भएको छ।

शीर्षस्थानको मोन्चेनग्लाडवाकको ५ खेलबाट ८ अंक छ। समान खेलबाटै साख्तर डोनेक्स र रियाल मड्रिडको ७ अंक रहँदा इन्टर मिलानले ५ अंक जोडेको छ।

प्रकाशित मिति: : 2020-12-02 07:26:00

प्रतिकृया दिनुहोस्