शेयरबजारमा 'बुलिस ट्रेण्ड', नेप्से सूचक ७२ अंकले बढ्यो

बिएल संवाददाता

काठमाडाै‌ं

शेयर बजारमा 'बुलिस ट्रेण्ड' देखिएको छ । विशेषगरी बिमा, उत्पादनमूलक र अन्य समूहमा व्यापक तेजी आएको छ ।

नेप्से सूचकले दिनहुँजसो ऐतिहासिक उचाइमा पुग्दै अघि बढेको छ । नेप्से सूचक ७०.६२ अंकले बढेर बुधवार २०७१.०२ विन्दुमा आइपुगेको छ । २०१ कम्पनीको ७ अर्ब ४६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । 

१ करोड ५५ लाख ६४ हजारभन्दा बढी कित्ता शेयर कारोबार भएको छ । व्यापारिक बाहेक बाँकी सबै समूहका सूचक वृद्धि भएका छन् । बिमा, माइक्रोफाइनान्स, उत्पादनमूलक तथा अन्य समूहका शेयरहरु तेजी आएको छ ।

२ दर्जनभन्दा बढी कम्पनीको भाउ बढेर सकारात्मक सर्किट लागेको छ । यता, युनिलिभरको भाउ सबैभन्दा धेरै ५.१९% ले घटेको छ । खरिदबिक्री रकममा नेपाल टेलिकम अग्रस्थानमा छ । यसको ४० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । दोस्रोमा नेपाल लाइफ इन्सुरेन्स र तेस्रोमा नबिल बैंक परेका छन् । सूचक २००० अंकभन्दा माथि नै अडिएपछि झनै सकारात्मक माहौल थपिएको हो ।

खरिदबिक्री रकममा पनि उस्तै तेजी छ । पछिल्ला प्रवृत्तिहरु हेर्दा बजार स्पष्ट रुपमा बुलिस चक्रमा प्रवेश गरिसकेको अनुभवी लगानीकर्ताहरु बताउँछन् । बुलिस बजारको प्रवृत्ति यस्तै हुन्छ । राम्रा कम्पनीहरुको भाउ एक लेबलमा नपुग्दासम्म नरोकिन बढ्ने गर्दछ । त्यसपछि फेरि विस्तारै यसअघि नबढेका कम्पनीहरु पनि बढ्न सुरु गर्छन् । बजारको घट्ने भन्दा बढ्न अनुपात नै बढी हुन्छ ।

यसर्थ, लगानीकर्तामा धैर्यता आवश्यक छ । बजारले दिनहुँ नयाँ उचाईहरु बनाइरहेका बेला हेर्ने, बुझ्ने र मनन् गर्नेतर्फ पनि उत्तिकै ध्यान दिन आवश्यक हुने अनुभवीहरु सुनाउने गर्छन् । बैंकिङ प्रणालीमा अत्याधिक तरलता थुप्रिएको छ । सोही कारण केन्द्रीय बैंकले समेत एकैसाथ ५० अर्ब रुपैयाँ तान्दैछ । बैंकहरुले शेयर कर्जा मज्जाले प्रवाह गरिरहेका छन् । ब्याजदर सस्तो छ । बजारले लामो अवधिको वियरिस चक्र पूरा गरेको छ । 

शेयर बजारसम्न्धी नीतिनियमहरु निकै सुधारउन्मुख छन् । यस्तो बेलामा बजार बढ्नुलाई अन्यथा मान्न नहुने विश्लेषकहरु बताउँछन् ।

प्रकाशित मिति: : 2020-12-02 15:36:00

प्रतिकृया दिनुहोस्