घर, गाडी किन्न कुन बैंकको स्थिर ब्याज कति?

सेतोपाटी

काठमाडाैं

घर, गाडी लगायत व्यक्तिगत आवधिक प्रकृतिका कर्जामा बैंकहरूले स्थिर ब्याजदर लागू गरेका छन्। ऋण चुक्ता नहुन्जेलसम्मै ब्याजदर घटबढ नहुने शर्तमा बैंकहरूले यस्तो ऋण दिन्छन्।

बैंकहरूले ऋण चुक्ता नहुन्जेल बारम्बार ब्याजदर बढाउने समस्यापछि राष्ट्र बैंकको निर्देशनमा कात्तिकदेखि यस्तो व्यवस्था लागू गरिएको हो। योसँगै अहिले सबै बैंकहरूले स्थिर ब्याजदर तोकेका छन्।

तर स्थिर ब्याजदर परिवर्तनशीलभन्दा साढे ३ प्रतिशतसम्म महँगो पाइएको छ। बैंकहरूले तोकेको स्थिर ब्याजदर हाल कायम भएको आधार दरभन्दा दोब्बरसम्म बढी छ।

असोज मसान्तसम्म २७ वटा वाणिज्य बैंकको औसत आधार दर ७.६५ प्रतिशतमा झरेको छ। यसमा बैंकले आफूखुसी प्रिमियम दर राख्न सक्छन्। अहिले अधिकांश बैंकले २ प्रतिशतसम्म मात्रै प्रिमियम थपेर प्रवाह गर्दै आएका छन्।

बैंकहरूले व्यक्तिगत आवधिक प्रकृतिको कर्जामा घटबढ नहुनेगरी तोकेको स्थिर ब्याजदर भने १४ प्रतिशतसम्म छ।

माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले अहिले बैंकबाट यस्तो स्थिर ब्याजको ऋण लिन आकर्षण नदेखिएको बताए।

‘सुरुआतमा स्थिर ब्याजदर केही महँगो छ। तर पछिलाई ढुक्कै हुने हो। तर ऋणीले पछिका लागि भन्दा पनि अहिलेकै लागि सोच्ने रहेछन्। स्थिर ब्याजदर तोकेका त छौं, तर ऋण खासै गएको छैन,’ उनले सेतोपाटीसँग भने।

नबिल बैंक रिटेल लेन्डिङ प्रमुख चाँदनी श्रेष्ठले पनि अहिले परिवर्तनशील ब्याजदर एकदमै घटेकाले पनि स्थिर ब्याजदरमा आकर्षण नभएको बताइन्।

प्रकाशित मिति: : 2020-12-04 11:08:00

प्रतिकृया दिनुहोस्