खेतीयोग्य जमिन सिँचाइबाट वञ्चित

सांकेतिक तस्बिर

खेतीयोग्य जमिन सिँचाइ सुविधाको अभावमा बाँझो बन्दै गएको छ। बगनासकाली गाउँपालिका–६ यम्घाको मङरान सिँचाइ सुविधाबाट वञ्चित भएसँगै खेतीयोग्य जमिन अनुत्पादक जमिनका रुपमा परिणत भएको छ। 

कालीगण्डकी कोरिडोरको गाँैडाकोट, मुक्तिनाथ सडक खण्डको मङरानमा क्षेत्रमा सडक विस्तार गर्दा कुलो भत्केका छन्। सिँचाइको कुलो सडक विस्तारका नाममा छिन्नभिन्न भएपछि खेती हुन छाडेको स्थानीय बासिन्दाको गुनासो छ। पहिलो बीस धाराबाट जमिन सिँचाइ गरी किसानले तीन खेती गर्दै आएका थिए। धान, मकै, गहुँखेती गर्दै आए पनि सिँचाइ सुविधाको अभावमा अहिले मकैखेती मात्र गर्दै आएको स्थानीयबासिन्दा लीलामणि अधिकारीले गुनासो पोखे। 

सडक विस्तारले सात वर्षदेखि अहिलेसम्म कुलोको नामनिशाना नरहेको स्थानीय बासिन्दा अधिकारीले बताए। झण्डै सात सय रोपनी जमिनमा अहिले सिँचाइको पहुँच छैन। सिँचाइको सहज पहुँच र अन्नबाली राम्रो हुने देखेर अधिकारी विसं २०६० मा पाल्पाको गुगाबाट बसाइँसराइ गरेर आएका हुन्। 

'पहिला धान, मकै प्रशस्त उत्पादन हुने ठाउँ हो, हाम्रा बाहुबाजे मकै धान स्याङ्जाका मानिसलाई बेच्थ्यौं' स्थानीयवासी प्रेम पन्थीले बताए। सिँचाइको सुविधाबाट वञ्चित भएसँगै स्थानीयवासीको जीविकोपार्जनमा समस्या देखिएको छ। कालीगण्डकी कोरिडोर विस्तारपछि यहाँका स्थानीयवासीमा उत्साह थपिएको थियो। स्थानीयवासीले कालीगण्डकी कोरिडोरको सडक विस्तारले खानेपानीका धाराकुवासमेत छिन्नभिन्न भएपछि नदीको पानी बोकेर खानुपरेको छ। रासस 


 

प्रकाशित मिति: : 2020-12-06 16:43:00

प्रतिकृया दिनुहोस्