गोली हानेको भनिएका मिक्लाजुङका श्रेष्ठको घाँटी रेटेर हत्या भएको पुष्टि

तेजन खड्का

उर्लाबारी

मोरङको मिक्लाजुङ्ग गाउँपालिकाका १ स्थित सरस्वती आधारभूत विद्यालयका  प्रधानाध्यापक  राजेन्द्र श्रेष्ठको घाँटी रेटेर हत्या भएको पुष्टि भएको छ। 

यसअघि प्रहरीले स्थानीयले दिएको जानकारीको आधारमा गोली हानेर हत्या भएको बताएकोमा प्रहरी टोली घटनास्थल पुग्दा घाँटी रेटेर हत्या भएको खुलेको हो।

सामाजिक अगुवासमेत रहेका ५४ वर्षीय  श्रेष्ठको हत्या गरिएको अवस्थामा मंगलबार विहान शव भेटिएको थियो। 

उनलाई घरबाटै ४–५ जनाको समूहले अपहरण गरेर लगेको एक घण्टापछि स्थानीयले शव भेटेका थिए।

घटना भएको करिब ८ घण्टापछि प्रहरीले पूर्वोत्तर मोरङको विकट क्षेत्रमा पर्ने घटनास्थलमा पुगेको थियो।

 मोरङ प्रहरीको टोली घटनास्थलमा पुग्दा श्रेष्ठको दुवै हात बाँधेर धारिलो हतियारले घाँटी रेटेर हत्या गरेको अवस्थामा शव भेटिएको इलाका प्रहरी कार्यलय उर्लाबारीका प्रहरी निरीक्षक उद्वब पोख्रेलले जनाए।

‘घटनास्थलमा मोरङ प्रहरीको टोली गेको छ,’उनले भने  ‘घटनास्थलमा पुग्दा मृतकको घाँटीमा धारिलो हतियार प्रयोग भएको देखिएको छ। दुवै हात बाँधेको अवस्थामा पछाडि रहेको छ।’ 

स्थानीयले गोली चलेको आवाज सुनेको आधारमा गोली हानेर हत्या भएको जानकारी दिएपनि मृतकको शवमा गोली प्रहार भएको नदेखिएको प्रहरीले जनाएको छ।

श्रेष्ठलाई घरबाट उठाएर लगेको १ घण्टापछि गोली चलेको आवाज स्थानीयले सुनेका थिए। त्यसपछि स्थानीयले उनको खोजी गर्ने क्रममा जंगलमा शव भेटेर प्रहरीलाई खबर गरेका थिए।

शव भेटिएको स्थान मृतकको घरदेखि करिब एक किलोमिटरको दुरीमा छ। मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काले विप्लब समूहका कार्यकर्ताले श्रेष्ठको अपहरण गरि हत्या भएको सूचना रहेको जानकारी दिए।

प्रदेश प्रहरी, मोरङ प्रहरीका डिएसपीसहितको टोली घटनास्थलमा पुगेर अहिले अनुसन्धान गरिरहेको छ। प्रहरीले सो क्षेत्रलाई शिलबन्दी गरेर हत्यामा संलग्नको खोजी गरिरहेको जनाएको छ।

प्रकाशित मिति: : 2020-12-08 17:38:00

प्रतिकृया दिनुहोस्