बुद्ध नेपालको भूमिमै जन्मिएका हुन्, भ्रम सच्याऔं: प्रधानमन्त्री ओली

बिएल संवाददाता

काठमाडाै‌ं

प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्ध जन्मभूमिबारेको त्रुटि सच्याउन आग्रह गरेका छन्। 

कीर्तिपुर नगरपालिकाको चोभारस्थित सुलक्षण कीर्ति विहार परिसरमा ‘शान्ति सुद्धम्मावासा’ ज्येष्ठ नागरिक आवास गृहको आज शिलान्यास गर्दै उनले शान्तिका अग्रदूत भगवान गौतम बुद्ध नेपालको भूमिमा जन्मिएको भए पनि भ्रम फैलाइएको बताए।

‘अमेरिकाले बुद्ध नेपालमा नभई अन्यत्रै जन्मिएको भन्ने विषय पाठ्यपुस्तकबाट हटाएर नेपालमै जन्मिएको भनेर लेखेको छ’, उनले भने, ‘अन्य देशको पाठ्यक्रममा पनि त्रुटी भएको भए म सच्याउन आग्रह गर्दछु ।’

उनले धर्मका नाममा परस्परमा घृणा तथा द्वेष फैलाउने काम बन्द हुनुपर्ने बताए।

‘धर्मको मूलमन्त्र शान्ति र मेलमिलाप तथा एकता हो। हरेक धर्म मेलमिलापका लागि हुनपर्छ, फाटोको निम्ति होइन,’ उनले भने।

प्रधानमन्त्री ओलीले बुद्ध धर्मको प्रचार र लुम्बिनीको विकासमा विदेशीको भर पर्नुपर्ने अवस्थालाई अन्त्य गर्न सरकार लागिपरेको बताए। ‘लुम्बिनीको विकासका लागि आफ्नो कर्तव्य पूरा गर्न तीव्रताका साथ अगाडि बढ्नु जरुरी छ’, उनले भने। 
 

प्रकाशित मिति: : 2020-12-08 18:37:00

प्रतिकृया दिनुहोस्