बलात्कारकाे घटना लुकाउन ५ लाख !

संकेतिक तस्वीर
संकेतिक तस्वीर

मोरङ प्रहरीले बलात्कार घटना लुकाउन मिलापत्र गराएको आरोपमा ६ जनालाई पक्राउ गरेको छ। 

पीडित पक्षलाई ५ लाख रुपैयाँ दिएकाे मिलापत्रको कागजसहित उनीहरुलाई घरबाटै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा धनपालथान गाउँपालिका ५ का ६५ वर्षीय धनेशु खवास, ५३ वर्षीय सुधारसिंह खवास, ६२ वर्षीय मागन खवास, ६२ वर्षीय कलकनु खवास, रंगेली नगरपालिका १ का ६७ वर्षीय जगतनारायण खवास र बेलबारी नगरपालिका ८ का ५३ वर्षीय मथालु खवास छन्।

भदौ २४ गते धनपालथान ५ स्थित आफ्नो खेतमा मल छर्ने क्रममा  बेलबारी नगरपालिका ८ का ३२ वर्षीय सुरेशकुमार खवासले २१ वर्षीया युवतीलाई बलात्कार गरेका थिए। 

उनले आफन्तको घरमा बसेकी ती युवतीलाई मल छर्ने काममा सघाइदिन भन्दै फकाएर लगेको र एक्लै भएको मौकामा नहरछेउमा लगेर बलात्कार गरेको मोरङ प्रहरीका डीएसपी मानबहादुर राईले बताए। 

आफन्तसँगको सल्लाहपछि युवतीले घटनाको एक महिनापछि २५ असोजमा रंगेलीस्थित इलाका प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन्। अनुसन्धान चलिरहेकै बेला सुरेशकुमार फरार भएको प्रहरीकाे भनाइ छ। 

फरार अवस्थामै खवासलाई रंगेली नगरपालिका ७, बजार क्षेत्रबाट मंसिर १९ गते दिउँसो ३ बजे प्रहरीले पक्राउ गरेको थियो। 

प्रकाशित मिति: : 2020-12-11 13:34:00

प्रतिकृया दिनुहोस्