सरकारविरुद्ध १० नारा बाेकेर कांग्रेस सडकमा, देउवाले हेटौंडा र पौडेलले काठमाडौंमा सम्बोधन गर्ने

बिएल संवाददाता

काठमाडाै‌ं

प्रमुख विपक्षी नेपाली कांग्रेसले मंसिर २९ गते सडकबाट सरकारको विरोध गर्ने भएको छ।

वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि १७ मंसिरमा तनहुँमा भएको धरपडक, कोरोना भाइरस नियन्त्रण तथा उपचारमा देखाएको उदासिनता र स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टचारको विरोधमा २९ गते ७७ जिल्लामै प्रदर्शन गर्ने कांग्रेसको तयारी छ।

यसका लागि केन्द्रीय कार्यालयबाटै प्रतिनिधि खटाइएको छ। शीर्ष नेताहरूले देशका मुख्य सहरका प्रदर्शनमा सम्बोधन गर्न भएका छन्।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार सभापति शेरबहादुर देउवाले हेटौंडाको प्रदर्शनलाई सम्बोधन गर्ने कार्यक्रम छ। 

वरिष्ठ नेता रामचन्द्र पौडेलले काठमाडौं, उपसभापति विमलेन्द्र निधिले भक्तपुर, महामन्त्री शशांक कोइरालाले विराटनगर, सहमहामन्त्री प्रकाशशरण महत झापा, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला महोत्तरीमा सम्बोधन गर्ने कार्यक्रम छ। 

यता कोषाध्यक्ष सीतादेवी यादवले ललितपुर, पूर्वउपसभापति गोपालमान श्रेष्ठ काभ्रे, पूर्वमहामन्त्री प्रकाशमान सिंह धनुषाको कार्यक्रममा सहभागी हुनेछन्।

नेताहरू चित्रलेखा यादव सप्तरी, रामशरण महत चितवन र अर्जुननरसिंह केसी पोखरामा हुने कार्यक्रममा सहभागी हुने जानकारी दिए।

यस्तै केन्द्रीय सदस्यहरू गगन थापा कैलाली, प्रदीप पौडेल कञ्चनपुर, एनपी साउद अछाम जाने कार्यक्रम छ।

जिल्ला सभापतिहरूले माग गरेअनुसार केन्द्रीय सदस्यहरू जिल्लाहरूमा हुने प्रदर्शनमा सहभागी हुने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ। 

यस्तै कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार सरकार र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध १० लगाइने नाराहरुपनि तयार गरेको छ। 

‘चारैतिर भ्रष्टाचार, जनताले चिन्यो ओली सरकार, जनता कोरोनाको मारमा नेकपा सत्ताको जितहारमा, औषधि छैन मल छैन सत्ताको लडाइँ, लाज छैन, बढ्यो महिला हिंसा र बलात्कार, अकर्मण्य भो ओली सरकार’ लगायत नारा लगाइने भएकाे छ। 

केन्द्रले तोकेकाबाहेक अरू नारा प्रदर्शनमा लगाउन पाइने छैन। 

प्रकाशित मिति: : 2020-12-11 13:45:00

प्रतिकृया दिनुहोस्