राेनाल्डाेकी बहिनीले सेयर गरिन् मेसीलाई हाेच्याउने कार्टून

बिएल संवाददाता

काठमाडाै‌ं

पोर्चुगलका सुपरस्टार क्रिष्ट्रियानो रोनाल्डोकी बहिनी इल्मा अभिइरोले लिओनल मेसीले रोनाल्डोको प्रार्थना गर्दै गरेको हाेच्याउने कार्टून आफ्नो सामाजिक सञ्जालमा शेयर गरेकी छिन्।

‘मेरो राजा। अहिलेसम्मकै सर्वोत्कृष्ट,’ उनले लेखेकी छिन्।

गत मंगलबार च्याम्पियन्स लिगमा बार्सिलोना युभेन्टससँग ३–० ले पराजित भएको थियो। जसमा दुई गोल रोनाल्डोले गरेका थिए। उक्त खेलमा मेसीले कुनै गोल गर्न सकेनन्।

त्यसपछि रोनाल्डोका फ्यानहरुले उक्त कार्टुन सामाजिक संजालमा सेयर गरेका थिए। 

यद्यपी रोनाल्डोले फुटबलमा प्रतिस्पर्धा हुनु स्वभाविक भएको बताउँदै मेसीसँग कहिल्यै प्रतिद्वन्द्वीको भावना नराखेको बताएका थिए।

‘मेरो मेसीसँग सधैं धेरै सौहार्दपूर्ण सम्बन्ध भएको छ,’ रोनाल्डोले भनेका थिए, ‘१२, १३  वा १४ वर्ष पुरस्कार समारोहमा उनीसँगै रहे। मैले उनलाई कहिले पनि प्रतिद्वन्द्वीको रूपमा हेरिनँ।’

रोनाल्डोले रियल मड्रिडका खेल्दा दुई खेलाडीबीचको प्रतिद्वन्द्वीता उत्कर्षमा थियो। एक दशकभन्दा लामो समयदेखि उनीहरुले फुटबल खेलमा आफ्नो दबदबा कायम गरेका छन्। 

मड्रिड छाडेर युभेन्ट्स जानुअघि रोनाल्डो र मेसीबीच ९ सिजन स्पेनिस फुटबलमा आमनेसामने भएको थियो।

मेसीले ६ पटक र रोनाल्डोले ५ पटक बेलोन डि अर जितेका छन्। 

‘उनले सँधै आफ्नो टिम र मेरा लागि पनि राम्रो गर्न कोशिस गरे। मैले उनीसँग सधै राम्रै साथ पाएँ,’ रोनाल्डोले भनेका थिए।

च्याम्पियन्स लिगमा मेसीले अहिलेसम्म चारपटक च्याम्पियन्स लिग जितेका छन्। 

रोनाल्डोले म्यानचेस्टर युनाइटेडबाट एकपटक र मड्रिडबाट चारपटक च्याम्पियन्स लिग जितेका छन्। 

प्रकाशित मिति: : 2020-12-11 14:08:00

प्रतिकृया दिनुहोस्