टोखा मिलनटोलको सडक कालोपत्रे

सांकेतिक तस्बिर

टोखा नगरपालिकाले मिलनटोलको सडक कालोपत्रे शुरु गरेको छ। 

ऐतिहासिक, सांस्कृतिक पर्यटकीय समृद्ध नगर निर्माणको अभियानमा जुटेको सो नगरपालिकाले रु एक करोड सात लाख लागतमा आज टोखा–८ स्थित मिलनटोलको सडक कालोपत्रे शुरु गरेको हो। 

टोखा नगरप्रमुख प्रमुख प्रकाश अधिकारीले  नगरपालिकाले भौतिक संरचना निर्माण र सडक पूर्वाधारलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको बताए। 

'संविधानले दिएको अधिकार पूर्णरुपमा कार्यान्वयन गर्नका लागि नगरपालिकाको संस्थागत क्षमता वृद्धि, पूर्वाधार विकास, प्रशासनिक भवन निर्माण, वडा कार्यालयका भवन निर्माणलाई प्राथमिकमा राखेका छौँ' उनले भने। नयाँ कालोपत्रे हुन लागेको सडकको लम्बाइ एक हजार १०० मिटर र चौडाइ चार मिटर रहेको छ। 

यस्तै नगरपालिकाले रु १२ करोड लागतमा टोखा–७ मैजुहिटीमा नगरपालिकाको भवन निर्माण गरिरहेको छ भने टोखा–९ को गोँगबु र वडा नं ११ को महादेवटार हाइटमा वडा प्रशासनिक भवन निर्माण भइरहेको नगरपालिकाका प्रवक्ता बच्चुराज बस्यालले जानकारी दिए। रासस 
 

प्रकाशित मिति: : 2020-12-11 19:10:00

प्रतिकृया दिनुहोस्