उच्च अदालतको पोल्टामा उपप्राध्यापक चलाउनेको आक्रमण मुद्दा

शिलापत्र

काठमाडौँ

कृष्णसिंह लाेथ्याल

त्रिभुवन विश्वविद्यालय (त्रिवि) केन्द्रीय क्याम्पस कीर्तिपुरका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि सांघातिक आक्रमण गर्ने आरोपीलाई पुर्पक्षका लागि जेल चलानको माग गर्दै सरकारी वकिलको कार्यालय, काठमाडौं उच्च अदालत पाटन पुगेको छ । 

जिल्ला अदालत काठमाडौंले चलाउनेमाथि आक्रमण गर्ने मुख्य अभियुक्त हरि आचार्य र योगेन्द्र रावलसहित सबै आरोपीलाई धरौटीमा छाड्ने आदेश दिएपछि सरकारी वकिलको कार्यालय उच्च अदालत पुगेको हो । 

उच्च अदालत पाटनले चलाउनेको मुद्दाको पेशी बिहीबारका लागि तोकेको छ । १५ मंसिरमा काठमाडौं जिल्ला अदालतका न्यायाधीश अम्बिकाप्रसाद निरौलाको एकल इजलासले आचार्य र रावललाई जनही ५५ हजार रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको थियो । उनीहरू सोही दिन धरौटी बुझाएर छुटेका थिए । आचार्य र रावल प्रहरीको फरार सूचीमा रहे पनि प्रहरीले पक्राउ गर्न सकेको थिएन । तर, आफैँ अदालतमा हाजिर भएका थिए ।
 
आचार्य र रावलबाहेक अन्य आरोपीहरू रुपेश साह, रबिनकुमार लामा, सयुस श्रेष्ठ र निरज रानामगरलाई भने प्रहरीले २५ दिन थुनामा राखेर अनुसन्धान गरेको थियो । पक्राउ परेका साहलगायतले हरि र योगेन्द्रकै योजनामा चलाउनेमाथि आक्रमण गरेको प्रहरीसँगको बयानमा भनेका थिए । 

प्रकाशित मिति: : 2020-12-13 15:58:00

प्रतिकृया दिनुहोस्