स्वास्थ्य सामग्री खरिदकाे विवादबारे छलफल गर्न लेखा समितिले डाक्याे स्वास्थ्यमन्त्रीलाई

बिएल संवाददाता

काठमाडाै‌ं

विवादास्पद स्वास्थ्य उपकरण खरिद प्रक्रियामा छानबिन गरिरहेको संसदको सार्वजनिक लेखा समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई छलफलका लागि बोलाएको छ ।

शुक्रबार दिउँसो १ बजे बस्ने बैठकमा स्वास्थ्यमन्त्रीलाई बोलाइएको लेखा समिति सभापति भरतकुमार शाहले बताए । 

कोरोना भाइरसको संक्रमण देखिएसँगै स्वास्थ्य विभागले चीनबाट स्वास्थ्य उपकरण ल्याउन ओम्नी बिजनेश कर्पोरेट इन्टरनेशनल (ओबीसीआई)सँग सम्झौता गरेको थियो। तर, बिना प्रतिस्पर्धा निकै महंगो मूल्यमा उपकरण खरिदको सम्झौता गरिएको भन्दै सरकारको आलोचना भयो।

त्यसपश्चात स्वास्थ्य सेवा विभागले गत चैत १९ गते ओम्नीसँग भएको उपकरण खरिद सम्झौता रद्द गर्ने निर्णय गरेको थियो। विभागले पनि मन्त्रालय बनाएको कोटेसनभन्दा २० प्रतिशत बढी मूल्य तिरिएको स्वीकार गरेको थियो।

यसै सम्बन्धमा समितिले चार महिनाअघि नै यस विषयमा छलफलका लागि मन्त्री ढकाललाई बोलाउने निर्णय गरेको थियो । तर, अहिले मन्त्रीसँगको सल्लाहमा उनको समय मिलेपछि नै बोलाइएको सभापति शाहले बताए ।
 
ओम्नीलाई कालोसूचीमा पर्न नदिन राजनीतिक रुपमा चलखेलसमेत भएकाे थियाे। अझ प्रधानमन्त्री केपी शर्मा ओलीले त खुलेर नै बचाउ गरेका थिए। तर,संसदीय समितिले  कालोसूचीमा राखेरै छाड्याे।

सार्वजनिक खरिद अनुगमनको कार्यालयले स्वास्थ्य सेवा विभागको सिफारिसमा  ओम्नीलाई  एक वर्षसम्म अन्य खरिद प्रक्रियामा सहभागी हुन नपाउने गरी कालोसूचीमा राखेको थियाे।

प्रकाशित मिति: : 2020-12-17 13:18:00

प्रतिकृया दिनुहोस्