भारतमा किसानको पीडा सहन गर्न नसकेर एक सिखले गरे आत्महत्या

किसानको पीडा सहन गर्न नसकेर एक जना सिखले आत्महत्या गरेका छन्। 

भारतको राजधानी दिल्लीको सिंघु सीमामा बुधबार बेलुका ६५ वर्षीय सिख प्रचारक राम सिंह सिंघडाले आफैले गोली हानेर आत्महत्या गरेको प्रहरीले जनाएको छ। 

समाचार संस्था पीटीआईका अनुसार उनी उनी हरियाणाको करनाल जिल्लाका बासिन्दा हुन्। उनको हातमा ‘सुसाइड नोट’ फेला परेको थियो। 

पञ्जाबीमा लेखिएको पत्रमा भनिएको छ, ‘किसानको पीडा सहन गर्न सकिरहेको छैन।’ सो पत्रको सत्यता जाँच भइरहेको प्रहरीले जनाएको छ ।

सिंघडाको शव पोस्टमार्टका लागि स्थानीय अस्पतालमा लगिएको छ। भारत सरकारका लागि भर्खरै लागु नयाँ कृषि कानुन टाउको दुखाई बन्न थालेको छ। 

मोदी सरकारले ल्याएको कृषि कानुनविरुद्ध पन्जाब र हरियाणका किसान आन्दोलनमा छन्। त्यसमा धेरै राजनीतिक दलले पनि समर्थन जनाएका छन्।

सरकार र किसानका प्रतिनिधिबीच ५ चरण वार्ता भइसकेको छ। तर अहिलेसम्म कुनै निकास निस्किन सकेको छैन। 

सरकारले न्यूनतम समर्थन मूल्यप्रति किसानको आशंका गलत रहेको दाबी गरेको छ।

सरकारले कानुनमा केही परिवर्तन गर्न तयार रहेको संकेत दिएको छ तर किसानले तीनवटै कृषि कानुन रद्द नभएसम्म आन्दोलन नरोकिने चेतावनी दिएका छन्।

सरकारसँग उनीहरूको वार्ता हुन सकेको छैन। कृषि कानुनविरूद्ध आन्दोलन गरिरहेका किसानलाई दिल्ली प्रवेश गर्न नदिन सरकारले सुरक्षा व्यवस्था कडा बनाएको छ। 

सरकारले दिल्लीको सीमा नजिकै विभिन्न चरणको सुरक्षा व्यवस्था लागु गरिसकेको छ। 

पञ्जाबमा किसानहरूको आन्दोलनमा भारतबाट छुट्टिएर अर्के राज्य खालिस्तान बनाउनुपर्ने माग राख्दै आएको भिण्डरवालाको यतिबेला चर्चा चुलिएको छ।

खालिस्तान अभियानका नायक भिण्डरवालाको हत्या इन्दिरा गान्धी प्रधानमन्त्री हुँदा भएको थियो।  

प्रकाशित मिति: : 2020-12-17 14:21:00

प्रतिकृया दिनुहोस्