टीकापुर घटना: डा भट्टराईले गरे थारू जातिको पहिचान र अधिकारको लडाइँले जित्ने दाबी

बिएल संवाददाता

काठमाडाै‌ं

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले सामाजिक सञ्जालमा जातिय द्धन्द्धलाई बढ्वा दिने शब्द पोष्ट गरेका छन्।

बिहिबार उच्च अदालत दीपायलले ६ भदौ २०७२ मा ८ जना सुरक्षाकर्मी र एक नावालकको ज्यान जाने गरी भएको कैलालीको टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएपछि उनले त्यस्ता शब्द पोष्ट गरेका हुन्।

भट्टराईले सांसद चौधरी, लक्ष्मण थारू लगायतका नेपालको सम्भवतः सबभन्दा पुरानो तर अत्यन्त उत्पीडित थारू जातिको मुक्ति अभियानमा लागेका नेताहरूलाई अदालतले पुनः दोषी ठहर गर्नु अत्यन्त दुःखद भएको भन्दै आफ्नो पहिचान र अधिकारको लडाई लड्नुपर्ने बताएका छन्।

‘झापाविद्रोह र जनयुद्धका नायकहरू सत्तासीन भएको वेला  थारूविद्रोहको चाहिं अपराधीकरण हुनु विडम्बनापूर्ण र खेदजनक छ।उत्पीडित थारू जातिको पहिचान र अधिकारको लडाई एकदिन अवश्य विजयी हुनेछ। क्रान्तिकारी थारू नेताहरूलाई सलाम,’ उनले लेखेका छन्।

यसअघि पनि भट्टराई पटकपटक चाैधरीकाे घटनामा द्धन्द्धलाई बढ्वा दिने सामग्री पाेष्ट गर्दै आएका छन्। उनले यसअघि ०७ असार २०७६ ढाडकाे समस्या भएर बीर अस्पताल लगिएका चाैधरीलाई नेलले बाँधेर उपचार गरेकोप्रति आपत्ति जनाउँदै सरकारविरुद्ध प्रतिवादमा उत्रिएका थिए।

‘टीकापुर थारू विद्रोहको क्रममा जेलमा रहनुभएका सांसद रेशम चौधरीलाई मेरूदण्डसम्बन्धी उपचारनिम्ति अहिले वीर अस्पतालमा राख्दा दिनरात खिया लागेको फलामको १४ किलोको नेल र हत्कडीले बाँधेर लडाउनु कति मानवोचित र विधिसम्वत् हो ?’, भट्टराईले त्यतिखेर प्रश्न गरेका थिए ‘हिजो निरंकुश राजतन्त्रले ‘आतंकवादी’र ‘अराष्ट्रिय तत्व’को आरोपमा यसरी नै गोलघरको यातना दिएका महानुभावहरूले अहिले उही हर्कत उत्पीडित थारू आन्दोलनकारीहरूमाथि गर्नु कति विडम्बनापूर्ण !’ 

उच्च अदालत दिपायलका न्यायाधीसद्वय टेक नारायण कुँवर र सीताराम मण्डलको ईजलासले बुधबार रेशम चौधरीलाई जन्मकैदको फैसला सुनाएको हो। टीकापुर घटनामा तीन वर्ष जेल सजाय भोगेर रिहा भएका लक्ष्मण थारुलाई पनि जन्मकैदको फैसला सुनाएको छ।

फैसलामा उल्लेख छ, ‘मुलुकी ऐन ज्यान सम्बन्धी महलको १ नम्बरको कसुरमा सो महलको १७ (३) बमोजिम सजाय हुने ठहयाई भएको सुरु अदालतको फैसला मिलेको नदेखिदा निजको हकमा केही उल्टी भई निज प्रतिवादीलाई अभियोग माग दाबी बमोजिम ज्यान सम्बन्धी महलको १ नम्बरको कसुरमा सोही महलको १३ (४) बमोजिम जन्म कैद हुने ठहर छ।’

साथै निजलाई सोही महलको १५ नम्बर बमोजिम ज्यान मार्ने उद्योगमा ५ वर्ष कैद समेत हुने ठहर छ। अभियोग वादी सफाइ पाउँ भन्ने निज पुनर्वेदक प्रतिवादीको पुनर्वेदन जिकिर पुग्न सक्दैन।

अदालतको फैसलापछि थारुलाई पुनः पक्राउ गरि कारागार चलान गरिने प्रहरीले जनाएको छ।

चौधरी कैलाली क्षेत्र नम्बर १ का निर्वाचित सांसद हुन्। चौधरीले भूमिगत रहेकै अवस्थामा तत्कालिन राष्ट्रिय जनताका पार्टीको तर्फबाट सांसदको उम्मेदवारी दिएका थिए।

चौधरी प्रतिनिधि सभामा भारी मतान्तरले जितेपछि २०७५ को फागुनमा मात्रै सार्वजनिक भएका थिए। सांसदको सपथ पनि लिएका चौधरी हाल कारागारमै छन्।

प्रकाशित मिति: : 2020-12-18 08:20:00

प्रतिकृया दिनुहोस्