मलेसियामा नेपालीलाई बन्धक बनाई ठग्ने डेभिड उर्फ दुर्गाबहादुरको स्वीकारी बयान

लोकान्तर

काठमाडौं

मलेसियामा नेपालीलाई शरीर बन्धक बनाएर पैसा असुल्ने डेभिड भनिने दुर्गाबहादुर श्रेष्ठले शरीर बन्धक बनाएको स्वीकारी बयान दिएका छन् । दाङको पह

रुवाका मध्म रैदासलाई सात दिनसम्म बन्धक बनाएर पैसा असुलेको उनले स्वीकारेका हुन् । 

नेपालबाट ६० हजार रिँगेट अर्थात् नेपाली १५ लाख ९२ हजार रुपैयाँ फिरौती असुलेको पनि स्वीकारेको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख प्रहरी नायब उपरीक्षक (डीआईजी) सहकुल थापाले बताए ।

‘डेभिड भन्ने दुर्गाबहादुर श्रेष्ठले आफूले शरीर बन्धक बनाएको र पैसा फिरौती गरेको स्वीकारेको छ,’ डीआईजी थापाले लोकान्तरसँग भने । 

रैदासबाट पैसा असुले पछि नेपालको प्रहरीले खोज्न सक्ने भएकाले त्यसबाट बच्नका लागि मलेसियन प्रहरीकोमा लगेर रैदासलाई मैले पैसा चोरेको हो भन्न लगाएर जबरजस्ती कागज गराएको पनि स्वीकारेको डीआईजी थापाले बताए ।​

सीआईबीले श्रेष्ठलाई असोज २६ गते पक्राउ गरेर सार्वजनिक गरेका थियो । 

डन डेभिडविरुद्ध मलेसियामा बसेर गुण्डागर्दी र अपहरण गरेको भन्दै सीआईबीमा मध्म रैदासकी श्रीमतीसहित अन्य १५ जनाले किटानी जाहेरी दिएका थिए । 

अनुसन्धानपछि सीआईबीले शरीर अपहरण, फिरौती लगायतका अपराधमा संलग्न भएको मागदाबी सहित जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गराएको थियो । 

प्रकाशित मिति: : 2020-12-18 17:35:00

प्रतिकृया दिनुहोस्