उदयपुरमा शीतलहरले मुहसर बस्ती प्रभावित, कपडाको अभावमा घुर ताप्दै

रासस

गाइघाट
फाइल तस्वीर
फाइल तस्वीर

तराई क्षेत्रलगायत जिल्लामा पनि चिसो र शीतलहर शुरु भएसँगै त्रियुगा नगरपालिका क्षेत्रको जोगीदह, जलजले, पुरानो गाईघाटसहित जिल्लाको पूर्वी क्षेत्रको चौदण्डीको हँडिया, सुन्दरपुरसहितका क्षेत्रका गरीब दलित मुसहर बस्तीका बासिन्दाको जनजीवन प्रभावित हुन थालेको छ।

त्रियुगा नगरपालिकाको पुरानो गाईघाट, बगरटोल जलजले, खैनजुर र जोगीदह क्षेत्रका मुसहर बस्ती तथा हँडिया र सुन्दरपुर क्षेत्रका दलित मुसहर बस्तीमा अहिले चिसो र शीतलहरका कारण जनजीवन नराम्ररी प्रभावित हुन थालेको यस क्षेत्रका दलित समुदायका जनताले गुनासो गर्न थालेका छन् ।

त्रियुगा नगरपालिकाको पुरानो गाईघाट क्षेत्रको मुसहर तथा सदा जातिले अहिले चिसो र शीतलहर बढ्दै जान थालेपछि रात्रिको समयमा व्यवस्थित ओढ्ने कपडाको अभाव हुँदा आगोको घूर तापेर घरपरिवारले रात काट्न बाध्य हुनु परेको पुरानो गाईघाटका घुरन सदा बताउँछन्।

सदा भन्छन्, ‘आफूहरु दशघर सदाको जग्गा पनि छैन, ओइलानी जग्गामा घाँसले बारेर फुसको छानो भएको झुप्रोमा बसोबास गर्दै आएका छौँ, अहिले शीतलहर र चिसो शुरु भएपछि गतिलो ओढ्नेओछ्याउनेसमेत आफूहरुसँग नहुँदा घरपरिवार बिजोग भएर रात काट्न परेको छ।’

पुरानो गाईघाट क्षेत्रमा अधिकांश मुसहर जातिहरु लामो समयदेखि सानो फुसको छानो र काँसको घाँसले बारेको झुप्रोमा बसोबास गर्दै आएका छन् भने सबै जना परिवार भुइँमा नै सुत्ने गरेको कुरा उनीहरुको भनाइ रहेको छ। बल्लतल्ल जोडजाम गरेको एक जोर सिरकले सबै परिवारलाई ओढ्न नपुगेपछि रातिको समयमा घरछेउमा आगोको घुर बालेर रात काट्न शुरु गरेको पुरानो गाईघाटका ५० वर्षीय बिसनलाल सदा बताए।

यता त्रिनपा–२ खैजनपुरका ६८ वर्षीय मुनिलाल सदा पनि चिसोका कारण ओढ्नेओछ्याउनेको अभावमा रात काट्न पर्दाको पीडा यसरी पोख्नुहुन्छ । मुनिलाल भन्नुहुन्छ, “चिसो र शीतलहर शुरु भयो, सानो झुप्रो घरमा आठजनाको परिवारका लागि राम्रो ओढ्ने ओछ्याउनेसमेत अभाव हुँदा पालैपालो सुतेर रात काट्न शुरु गरेका छौँ।’

नातिनातिनी पहिला बेलुकी साँझमा नै सुत्छन् र राति नै उठेर आगो ताप्न थालेपछि आफू सुत्ने गरेको कुरा मुनिलालको दुःखेसो रहेको छ । यता जोगीदहको रुपनी तथा कङखोला बगर क्षेत्रका मुसहरको पनि चिसो र शीतलहर बढेसँगै यसरी नै रात्रिको समय गुज्रन शुरु भएको यस क्षेत्रका मुसहर बताउँछन्।

चिसो बढ्न थालेपछि रात्रिका समयमा दाउरा बालेर आगो ताप्ने र रात कटाउने गरेको त्रिनपा–१ जोगीदह रुपनीका ५५ वर्षीय जमुन सदाको भनाइ छ । यस क्षेत्रमा झण्डै २५ घरपरिवार सदाहरु रहेको तर कसैको गतिलो घर नभएको र ओढ्नेओछ्याउनेसमेत व्यवस्थित नहुँदा आफूले चिसोका समयमा यसरी नै बर्सेनी सास्ती खेप्दै आउनु परेको स्थानीयवासी नन्दु सदा बताउँछन् ।

दिनभरि अर्कामा गएर हाजिरामा काम गरे पनि बेलुकी दिनभरको कमाईले चामल, तेल किनेर खानमात्र ठिक्क हुने हुनाले कहिल्यै पनि राम्रो ओढ्नेओछ्याउने व्यवस्था गर्न नसकिएको तीतो यथार्थको पीडा नन्दु सदा सुनाए। नन्दुका अनुसार केही वर्षअगाडि सामाजिक सङ्घसंस्था र नगरपालिकाले दिएको कपडाहरु फाट्न थालेको र अन्य ओढ्ने कपडा गरिबीका कारण व्यवस्थापन गर्न नसक्दा चिसोको समयमा पीडा सहनु परेको हो ।

चौदण्डी गढी नगपालिकाको हँडिया मुहर बस्तीमा झण्डै ३५ घरभन्दा बढी मुसहर बसोबास गर्दै आए पनि २० प्रतिशत मुसहरमात्र ओढ्नेओछ्याउने भएका छन् बाँकी ८० प्रतिशतको घरमा ओढ्ने र ओछ्याउनेको अभाव रहेको हँडिया मुसहर बस्तीका कुसेस्वर सदा बताउनुहुन्छ । कसै वा कुनै सङ्घसंस्थाले दान सहयोग गर्‍यो भने यसपटकको चिसो र शीतलहर छल्न सकिने नत्र शीतलहर र यो चिसोका समयमा घुर तापेर नै रात काट्न बाध्यता रहनुपर्ने अवस्था आएको कुसेस्वर सदा बताए।

लामो समयदेखि आफूहरु जङ्गलको छेउको ओइलेनी जग्गामा बस्न बाध्य हुन परेको र रातदिन अर्कामा मजदूरी काम गरेर घरपरिवार पाल्न पर्ने हुनाले राम्ररी ओढ्ने ओछ्याउने कपडा व्यवस्थापन गर्न नसकिएको यस क्षेत्रका मुसहर समुदाय बताउँछन्।

जिल्लामा यस क्षेत्रका दलितका नाममा धेरै कार्यक्रम सञ्चालन हुने गरेको तर आफूहरुले भने केही नपाउने गरेकोसमेत यस क्षेत्रका दलित सदाहरुको भनाइ छ। जिल्लामा दलितका नाममा आएको बजेटहरुले आफूका लागि चिसो जाडोका समयमा दुई चारवटा कम्मल तथा ओढ्नेओछ्याउने मात्र व्यवस्था हुनसके र सम्बन्धित निकायले गरिदिए आफूहरुका लागि कल्याण हुने यस क्षेत्रका मुसहर जातिहरुको भनाइ छ ।

वर्षौं वर्षदेखि हिउँदको चिसो र शीतलहरको समस्या झेल्दै आएका यस क्षेत्रका दलित मुसहरले चिसोका कारण धेरैले ज्यान गुमाउँदै आएका छन्। यसपटक पनि शीतलहर र चिसो शुरु भएसँगै व्यवस्थित ओढ्नेओछ्याउनेको अभावमा यस क्षेत्रका दलित मुसहरको जनजीवन नराम्ररी प्रभावित हुन थालेको हो।

यस क्षेत्रका दलित मुसहर जातिका लागि चिसो र शीतलहरबाट बच्न व्यवस्थित घर र ओढ्नेओछ्याउने कपडाको व्यवस्थापन गर्न सम्बन्धित निकाय तथा राज्यको समेत उचित ध्यान जानुपर्ने जोगीदहका मुसहर समुदायका अगुवा नन्दु सदालगायत मुसहर अगुवाहरु बताउँछन्।

प्रकाशित मिति: : 2020-12-21 07:55:00

प्रतिकृया दिनुहोस्