तीन दलको निर्णय: ओलीको कदममा प्रतिवादको रणनीति बनाउने

बिएल संवाददाता

काठमाडाै‌ं

कांग्रेसको अगुवाइमा नेकपा असन्तुष्ट  पक्षसहित जनता समाजवादी दलको संयुक्त बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा गरिएको संसद विघटनको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको निष्कर्श निकालेका छन्।

कांग्रेस पार्टी कार्यालयमा बसेको सर्वदलीय बैठकले ओेलीइतरको नेकपासँगै कांग्रेस र राजपाको केन्द्रीय कमिटी बैठकपछि थप छलफल गरेर ओलीको कदमको प्रतिवाद गर्न संघर्षका कार्यक्रम सार्वजनिक गर्ने निर्णय गरेको छ।

बैठकपछि निर्णय सार्वजनिक गर्दै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीको कदम असंवैधानिक र अलोकतान्त्रिक भएको तथा यसबिरुद्ध संयुक्त रुपमा अघि बढ्ने निर्णय भएको जानकारी दिए।

कांग्रेस केन्द्रीय सदस्य रमेश लेखककाअनुसार भोलि बस्ने नेकपा र कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले प्रतिवादको पार्टी रणनीति बनाउने र त्यसपछि बस्ने सर्वदलीय बैठकले एकृकीत नीति लिने निर्णय भएको छ।

बैठकमा नेकपाबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल , माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेता वर्षमान पुन, पम्फा भुसाल काँग्रेसबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय शशांक कोइराला, पूर्णबहादुर खड्का, केन्द्रीय सदस्यद्वय मिनेन्द्र रिजाल, रमेश लेखक, जसपाका अध्यक्ष महन्थ ठाकुर, शरदसिंह भण्डारी र जितेन्द्र सोनल सहभागी भएका थिए।

कांग्रेस, नेकपा असन्तुष्ट पक्ष र जसपाका नेताहरुले मंगलबार १३८ सांसदको हस्ताक्षरसहित संसद विघटनबिरुद्ध सर्वोच्चमा निवेदन लिएर जाने निर्णयसमेत गरेका छन्। दाहाल,नेपाल र देउवालगायतका नेताहरु आफैँ संसद विघटनबिरुद्ध निवेदन लिएर सर्वोच्च जाने भएका हुन्।

प्रकाशित मिति: : 2020-12-21 19:00:00

प्रतिकृया दिनुहोस्