ओली पक्षकाे विस्तारित केन्द्रीय कमिटीको सूची निर्वाचन आयोगमा दर्ता, आफूहरु नै वैधानिक भएको दाबी

बिएल संवाददाता

काठमाडाै‌ं

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आफूहरु नै वैधानिक भएको दाबी गरेका छन्। 

आज बालुवाटारमा बसेको प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली समूहको बैठकबाट प्रवक्ताको जिम्मेवारी पाएका ज्ञवालीले प्रचण्ड-माधव नेपाल समूहको बैठक आधिकारिक नहुने बताए।

‘पार्टीको अध्यक्ष, महासचिव र माइन्युटविना पनि बैठक बस्छ र ?’, उनले भने, ‘त्यो बैठकको निर्णयको कुनै वैधानिकता हुने कुरा पनि भएन।’

पार्टीको मौजुदा विधानले महासचिवले नै बैठकको सूचना र एजेण्डा तय गर्ने भनेकाले आफूहरु नै वैधानिक भएको उनकाे तर्क छ। 

यस्तै ओली पक्षले बिस्तारित केन्द्रीय समितिको सूची निर्वाचन आयोगमा दर्ता गराएको छ। 

‘नेकपाको केन्द्री समिति पुनर्गठन भएको सूचना आएको छ। थप गरिएका सदस्यको सूची आयोगमा दर्ता भएको छ,’ प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए। 

आयोगमा अधिवक्ता बाबुराम दाहालले सूची दर्ता गराएका हुन्। मंगलबार बालुवाटारमा बसेको ओली पक्षको बैठकले ५५६ जनालाई केन्द्रीय सदस्य थप गरेको हो।

प्रकाशित मिति: : 2020-12-22 13:56:00

प्रतिकृया दिनुहोस्