बाँकेमा जसपाको विरोध प्रदर्शन

संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध जनता समादवादी पार्टी ‘जसपा’ले नेपालगञ्जमा विरोध प्रदर्शन गरेको छ । 

केन्द्रीय कार्यकारिणी समितिको निर्णय अनुसार जसपा बाँकेले बृहत प्रदर्शन गरेको हो । 

विरोध सभामा प्रधानमन्त्री ओली र राष्ट्रपति विद्यादेवी भण्डारीका कारण देशमा अस्थिरता निम्त्याउन खोजिएको भन्दै तत्काल निर्णय फिर्ता लिन मागसमेत गरिएको थियाे।

विरोध सभामा सहभागी कार्यकर्ताहरुले ‘केपी तेरो पारा, दुःख पाए साराले, नालायक प्रधानमन्त्री राजिनामा दे, विद्यादेवी भण्डारी राजिनामा दे ‘ लगायतका नारा लगाएका थिए । 

भेलालाई सम्बोधन गर्दै जसपाका नेता तथा पूर्वमन्त्री इस्तियाक राईले सरकारको असंवैधानिक कदमविरुद्ध जसपा सडक निस्केको बताए । 

 उनका अनुसार जसपाले संसद विघटनको विरोधमा देशभर एकैसाथ विभिन्न चरणमा आन्दोलन गर्ने कार्यक्रम तय भएको छ । 

जसपाको १० गते सबै जिल्ला सदरमुकाममा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गर्ने  कार्यक्रम छ । 

यस्तै ११ गते सबै जिल्ला सदरमुकाममा मसाल जुलुस निकाल्ने र १२ गते काठमाण्डौमा केन्द्रिकृत जनप्रदर्शन गर्ने निर्णय पार्टीले गरेको छ । 

साथै प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार संविधानले नदिएको भन्दै बैठक सुरू गर्न सभामुख अग्नी सापकोटालाई आग्रह गर्ने निर्णय गरिएको छ । 

भेलामा जसपाका नेता कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

प्रकाशित मिति: : 2020-12-23 20:13:00

प्रतिकृया दिनुहोस्