प्रभावकारी बन्दै ट्राफिक ‘भर्चुअल कक्षा’

बिएल संवाददाता

काठमाडाै‌ं

ट्राफिक प्रहरीले सञ्चालन गरेको भर्चुअल कक्षा प्रभावकारी बन्दै गएको छ । विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसका कारण नेपाल सरकारले गरेको बन्दाबन्दीपछि रोकिएको कक्षा ‘भर्चुअल’मार्फत सञ्चालन गरेपछि प्रभावकारी बन्दै गएको हो ।

 लामो समयदेखि बग्गीखानामा लिइँदै आएको ट्राफिक सचेतनाकक्षा कोरोना भाइरस सङ्क्रमणको जोखिमका कारण बन्द भएको थियो ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई मङ्सिर १६ देखि शुरु गरिएको ट्राफिक भर्चुअल कक्षामा तीन हजार ६८९ विद्यार्थीले ट्राफिक सचेतना कक्षा लिएको बताउँछन् । 

“महाशाखामा सचेतना कक्षा सञ्चालन गर्दा कोभिड–१९ को जोखिम बढ्ने खतरा भएकाले भर्चुअलमार्फत सचेतना कक्षा सञ्चालन गरेका हौँ”, उनी भन्छन् । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा मादक पदार्थ सेवन गरी सवारी चलाउने चालक, लेन अनुशासन उल्लङ्घन गर्ने, रातो बत्तीमा ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनका लागि कक्षा लिँदै आएको छ । 

यसअघि महाशाखाले मादक पदार्थ सेवन गरी सवारी चलाउने र लेन अनुशासनको पालना नगर्ने चालकलाई मात्र ट्राफिक कक्षा लिँदै आएको थियो । हाल उपत्यकाका २५ स्थानमा लाइटबाट ट्राफिक व्यवस्थापन हुँदै आएको छ । हालको प्रतिकूल अवस्थामा प्रविधिको प्रयोगमार्फत सचेतना कक्षा सञ्चालन बढी लाभदायक हुने र यसले आम चालकमा अनलाइन सचेतना कक्षा लिने बानीको विकास हुने महाशाखाको भनाइ छ ।
 
ट्राफिक प्रहरीले हाल मध्याह्न १२ देखि १ः०० बजेसम्म, दिउँसो १ः३० देखि २ः३० सम्म र ३ः०० देखि ४ः०० बजेसम्म तीन कक्षा सञ्चालन गर्दै आएको छ । भर्चुअल कक्षा लिनका लागि विद्यार्थी तोकिएको समयभन्दा १० मिनेट अगाडि नै महाशाखाको आइडीमा जोडिनुपर्नेछ ।

प्रकाशित मिति: : 2020-12-25 11:42:00

प्रतिकृया दिनुहोस्