राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुँदै, भीम आचार्यको नाम मुख्यमन्त्रीका लागि सिफारिश गर्ने तयारी

प्रदेश १ मा मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरिएको छ। 

शनिबार साँझ बर्खास्त गरिएका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बोको नेतृत्वमा मुख्यमन्त्री राईविरुद्ध अविश्वासको प्रस्ताव ल्याउने तयारी गरिएको हो।

उनले आइतबार नै प्रस्ताव दर्ता गरिने जानकारी दिए। ‘समय कतिबेला भन्ने चाहिँ टुंगो भएको छैन,’आङ्बोले भने,‘ तर आजै दर्ता हुन्छ। हामी तयारी गरिरहेका छौँ।’

पदबाट हटाइएलगत्तै अविश्वासको प्रस्ताव दर्ता गर्न मुख्यमन्त्रीले बाटो खोलिदिएको उनले बताएका छन्। पूर्वमाओवादी नेता आङ्बो अहिले नेकपा (प्रचण्ड)मा छन्।

मुख्यमन्त्री राई प्रधानमन्त्री ओली निकट मानिन्छन्। तर प्रदेश १ मा प्रचण्डसमूहलाई सरकार बनाउन बहुमत पुग्ने देखिन्छ। प्रचण्ड पक्षका ४७ जना र ओली पक्षका २० जना मात्रै रहेको दावी गरिएको छ।

९३ सदस्य रहेकाे प्रदेश १ को प्रदेशसभामा नेकपाका ६७, नेपाली कांग्रेसका २१, जनता समाजवादी पार्टीका ३, राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका १/१ सदस्य छन्।

तर अविश्वासको प्रस्ताव पास गराउन तथा मुख्यमन्त्री राई कायम रहन कांग्रेसको भूमिका नै निर्णायक हुन सक्ने छ।

यसअघि नै आङबोको अगुवाइमा मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराउन हस्ताक्षर संकलन भइरहेको थियो। 

प्रचण्ड पक्षका सांसदहरुले दुई दिनयता अविश्वास प्रस्ताव दर्ता गर्नेबारे पटक पटक छलफल गरेकाे थियाे। त्यसको सूचना पाएपछि मुख्यमन्त्री राईले शनिबार नै आङ्बोलाई पदमुक्त गरेको पत्र थमाएका थिए।

अब माधवकुमार नेपाल निकट प्रदेशसभा सदस्य भीम आचार्यको नाम नयाँ मुख्यमन्त्रीका लागि चर्चामा छ भने यता प्रचण्ड निकट आङबोले पनि मुख्यमन्त्रीको आकांक्षा राखेको बुझिएको छ। 

प्रकाशित मिति: : 2020-12-27 08:56:00

प्रतिकृया दिनुहोस्