सत्ता जाेगाउन सडकबाट टिपेर मन्त्री बनाए, प्रधानमन्त्रीमा कति दम्भ छ भन्ने यसबाट देखिन्छ: बाबुराम भट्टराई

बिएल संवाददाता

काठमाडाै‌ं

जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्ष पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सत्ता जाेगाउन सडकबाट टिपेर मन्त्रीहरू बनाइरहेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध गरेका छन्।

काठमाडौंमा आइतबार जसपाले गरेको प्रदर्शनपछि कोणसभामा बोल्दै उनले चुनाव घोषणा गरेपछि मन्त्रिपरिषद विस्तार गर्न नैतिक रूपमा नमिल्ने बताए।

‘प्रधानमन्त्री ओलीले संसदमाथि प्रहार गरे, यो त्यतिकै रोकिनेवाला छैन। विभिन्न निकायमा उनले खल्तीका मानिस राख्ने र सडकबाट टिपेर मन्त्री बनाउने? प्रधानमन्त्री ओलीमा कति दम्भ छ भन्ने यसबाट देखिन्छ,’ उनले भने।

उनले आफू प्रधानमन्त्री भएका बेला १२ वटा मन्त्रालय खाली रहे पनि ९ महिनासम्म मन्त्री नबनाएको स्मरण समेत गरे। 

‘म प्रधानमन्त्री हुँदा १२ मन्त्रालय खाली थियो। मैले ९ महिनासम्म कुनै मन्त्री थपिनँ,मेरो पुरानो रेकर्डमा हेर्नुस्,’ भट्टराईले भने। उनले दुई वर्ष बाँकी हुँदाहुँदै चुनावको आवश्यकता नभएको पनि बताए। 

‘संसदमा बहुमत हुँदाहुँदै र दुई वर्ष बाँकी छँदै अहिले चुनाव गर्ने बेला हो? त्यसमाथि कोरोनाको मिटर उच्च रहेको छ। संक्रमणको जोखिम रहेको बेला चुनावको घोषणा गर्न मिल्छ र?,’ उनले प्रश्न गरे। 

प्रधानमन्त्री ओली पहिलेदेखि नै गणतन्त्र, संघीयताविरोधी रहेको समेत उनले आरोप लगाए। 

‘उनी पहिलेदेखि नै गणतन्त्र, संघीयताविरोधी हुन्। उनले बारम्बार संघीयता आवश्यक नरहेको भन्दै आइरहेका छन्,’ उनले भने। 

उनले आफूहरुले ओलीलाई प्रधानमन्त्री बनाएर गल्ती गरेको पनि स्वीकार गरे। 

उनले भने, ‘सुकुम्बासीको घर छैन कम्युनिष्ट भनेर हिन्ने अनि अयोध्या बनाउने कुरा गर्ने। यस्तो मानिसलाई हामीले प्रधानमन्त्री बनायौं, यही गल्ती भयो।’

यता उनले कांग्रेसलाई सडक संघर्षमा उत्रन पनि आग्रह गरे। ‘अदालतको झिनो भरमात्रै छ। अदालतलाई सुनाउन पनि संघर्ष गर्नुपर्छ,’ उनले भने।

प्रकाशित मिति: : 2020-12-27 15:50:00

प्रतिकृया दिनुहोस्