महतकाे प्रधानमन्त्रीलाई प्रश्न– ओलीले दुई वर्षसम्म गफ मात्रै चुटे, खाेइ रेल र पानीजहाज?

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाली कांग्रेसका सहमहामन्त्री प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षसम्म गफ चुट्ने काम मात्रै गरेको आरोप लगाएका छन्।

काठमाडौं क्षेत्र नम्बर ५ मा सोमबार आयोजित प्रदर्शनपछि सभालाई सम्बोधन गर्दै महतले ओली सरकारले आकाश पाताल जोड्ने गफ चुटेको आरोप लगाए।

‘दुई वर्षसम्म यो सरकारले आकाश पाताल जोड्ने गफ चुट्यो। अनि काम गर्न पर्दैन?,’ उनले प्रश्न गरे।

प्रधानमन्त्री ओलीले रेल र पानीजहाज ल्याउने कुरा गरे पनि दुई वर्षसम्म सर्भेसमेत नभएको उनको भनाइ छ।

‘खोइ रेल र पानीजहाज?,’उनले प्रश्न गरे,‘कुरैकुरामा जनतालाई रनभुल्लमा पार्ने?’ 

यस्तै उनले प्रधानमन्त्री ओली सरकारले मनपरितन्त्र चलाएको पनि आरोप लगाए। 

‘ओली सरकारले मनपरितन्त्र चलाएका छन्,’ उनले भने, ‘संवैधानिक निकाय सरकारले जे चाहन्छ त्यही गर्नुपर्छ भन्ने मनपरि तरिकाले चलाएका छन्, यसले लोकतन्त्र सुरक्षित गर्दैन।’

नेकपाले नेपालमा विदेशी चलखेल बढाएको पनि उनको भनाइ छ।

‘नेपालमा विदेशी चलखेल बढ्यो। चीन र भारतका मानिस आइरहेका छन्। उनीहरू किन आइरहेका छन्? हाम्रो पक्षमा कि अर्को भन्ने साविती बयान लिन आइरहेका छन्। कम्युनिष्टको बदमासीको भण्डाफोर गर्ने काम अब कांग्रेसको हो,’ उनले भने।

प्रकाशित मिति: : 2020-12-28 14:41:00

प्रतिकृया दिनुहोस्