संकट परास्त गर्ने ‘नेपाली सूत्र’

हिमाल खबर

काठमाडौँ

शेखर खरेल 

ग्रेगोरियन् वर्ष २०२० लाई अत्यन्त तामझामकासाथ स्वागत गरिएको थियो। सरकारले संकल्प गरेको ’भ्रमण वर्ष २०२०’ को स्वागतका लागि राजधानीको दशरथ रङ्गशालाबाट शहर नै उजिल्याउने गरी आतिशबाजी गरिएको थियो।

नयाँ वर्ष उल्लासमय र समृध्दिको वाहक हुनेमा आशा बाँकी नै थियो । त्यसैले उर्लदो पर्यटकलाई सेवा दिँदै पर्यटनको लाभांश भित्र्याउने प्रतिस्पर्धामा सबै व्यवसायी जुटे। हतार–हतार नयाँ होटल खोलिए, ऋण काढ्दै हवाइजहाज, हेलिकप्टरदेखि वातानुकुलित पर्यटकवाहन खरीद गरिए। तर, नयाँ क्यालेण्डरको दुई पातो पनि पल्टिन नपाउदै राजमार्गमा तीब्र गतिमा हुइकिएको गाडीमा अचानक ब्रेक लगाइएको जस्तो परिस्थितिले पर्यटन व्यवसायी मात्रै नभएर आम नेपालीलाई नराम्ररी झस्कायो।

सन् २०१९ ले बिदा लिँदै गर्दा चीनको वुहान शहरमा पहिलो पल्ट देखापरेको संक्रामक रोग कोभिड–१९ चीनको विशाल सरहद पार गर्दै विश्व महाव्याधी बन्ने अनुमान थोरैले मात्र गरेका थिए। तर, विश्वव्यापीकरण र कनेक्टिभिटीबाट रोग मात्र के अछुतो हुन सक्थ्यो र !

चीनको शहरवाट शुरू भाइरस दुई–तीन महिना भित्रै इरान, कोरिया, ताइवान जस्ता एसियाली मुलुक हुँदै यूरोपतिर डढेलो झैं फैलिन थाल्यो। र, यसको लपेटामा चीनको सानो दक्षिणी छिमेकी नेपाल पनि पर्न गयो।

कोरोना भाइरस मात्र नभएर राजनीतिक हिसाबले पनि सन् २०२० सुखदायी रहन सकेन। हिजो पर्यटकीय लाभ लिने अपेक्षामा लगानी गर्नेहरू पर्यटक आगमन नै ठप्प भएपछि बैंकको किस्ताबन्दी, कर्मचारीलाई तलब र घरबेटीलाई भाडा बुझाउन हम्मे हुने अवस्थामा पुगे।
 

 

प्रकाशित मिति: : 2021-01-01 18:02:00

प्रतिकृया दिनुहोस्